धनकुटाकी पत्रकार मानवी मोक्तानलाई तामाङ मिडिया अवार्ड प्रदान
धनकुटा । धनकुटामा पत्रकारीता क्षेत्रमा क्रियाशील रहनुभएकी मानवी मोक्तानलाई यो वर्षको तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ ।
तामाङ पत्रकार संघले ३१औं तामाङ प्रसारण दिवसका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा धनकुटाकी पत्रकार मोक्तानलाई १० हजार १ सय नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
पत्रकार मालती मोक्तानलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ र बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । मोक्तान धनकुटाको हिलेस्थित रेडियो लालिगुरास एफएमका कार्यरत हुनुहुन्छ भने सामुदायीक रेडियो प्रशारक संघ अकोराव कोशी प्रदेशको उपाध्यक्ष समेत हुनुहुन्छ ।
त्यसैगरी नुवाकोट घर भई कान्तिपुर मिडिया ग्रुपको ईकान्तिपुर डटकममा उपसम्पादकको रुपमा कार्यरत टीकाराम तितुङ तामाङलाई पनि तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ ।
रेडियो नेपालमा पहिलोपटक तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई तामाङ पत्रकारहरूले तामाङ प्रसारण दिवसका रूपमा मनाउँदै आएका छन् । २०५१ भदौ १ गते पहिलोपटक तामाङ भाषाले प्रसारण क्षेत्रमा प्रवेश पाएको थियो ।


प्रतिक्रिया दिनुहोस