सञ्चारकर्मी अधिकारी र साहित्यकार घिमिरेलाई धनकुटामा गरियो सम्मान
धनकुटा । धनकुटाका सञ्चारकर्मी रमेशचन्द्र अधिकारी र साहित्यकार झमक घिमिरे धनकुटामा सम्मानित भएका छन् ।
बौद्धिक बिकास समाज समिति धनकुटा आज आयोजना गरेको खुला तीज प्रतियोगिता को अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी रमेशचन्द्र अधिकारी सम्मान गरेको हो । उहाँलाई विगतमा भएका तीज नृत्य प्रतियोगितामा निर्णयकको भुमिका निर्वाह गरेवापत सम्मान गरिएको आयोजकले जनाएको छ । अधिकारी ३ दशकदेखि धनकुटामा रहेर पत्रकारीता पेशामा क्रियाशिल हुनुहुन्छ ।
त्यसैगरी मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई धनकुटा रत्नबाट सम्मान गरिएको छ । घिमिरेलाई ५ हजार नगद सहित धनकुटा रत्नबाट सम्मान गरिएको छ । अस्वास्य भई कार्यक्रममा आउन नसक्ने भएपछि घिमिरेलाई घरमै गएर हस्तान्तरण गरिने बौद्धिक बिकास समाज समिति धनकुटाका अध्यक्ष सुवासचन्द्र जोशीले बताउनुभयो ।
सम्मानित दुबै जनालाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र संबिधानसभा सदस्य मनोहर नारायण श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गर्नु भयो । बौद्धिक बिकास समाज समितिले १० वर्षदेखि निरन्तर रुपमा तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिता गर्दै आएको छ ।
सो खुला तीज प्रतियोगिता धनकुटा नगरपालिकाका प्रमुख तामाङ, संबिधानसभा सदस्यद्धय मनोहर नारायण श्रेष्ठ र लिला सुब्बा, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरत कुमार थापा क्षेत्री, भीम दल गण सल्लेरी ब्यारेकका कर्नेल गणेश थापा लगायत राजनीतिक दलका प्रतिनिधिहरु, वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।
सो खुल्ला नृत्य प्रतियोगितामा ४० बर्ष माथिको उमेर समुहतर्फ रत्ना खडगी, २० वर्ष भन्दा माथिको उमेर समुहमा रिना राई र २० वर्षभन्दा कम उमेर समुहतर्फ सजना गजमेर प्रथम हुनुभएको छ । साथै सबै उमेर समुहतर्फ सान्त्वना पुरस्कार समेत प्रदान गरिएको थियो ।
सो प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष सुवासचन्द्र जोशीको सभापतित्वमा भएको थियो भने कार्यक्रममको संचालन कार्यक्रम संयोजक जीवन श्रेष्ठले गर्नुभएको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस