धनकुटाको विकासका लागि धनकुटेली जनता एक हुनुको विकल्प छैन : पूर्वमन्त्री राजेन्द्र कुमार राई

धनकुटा एफ. एम.
१६ भदौ २०८२, सोमबार

धनकुटा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले धनकुटाका विकासका लागि धनकुटेली जनता एक हुनुपर्नेमा जोड दिनु भएको छ ।

जिल्ला समन्बय समिति धनकुटाले आयोजना गरेको स्थानीय तहको असल अभ्यास आदानप्रदान तथा आर्थिक वर्ष २०८१/८२ को समिक्षा कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री राईले धनकुटाका जनतालाई शुद खानेपानी दिलाउन तत्काल पहल गर्न खानेपानी कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । उहाँले धनकुटाको विकास अन्य जिल्लाको तुलनामा निक्कै राम्रो भएकाले यसको थप विकासका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

आफु मन्त्री हुँदा साँढे २ खर्व विनियोजन गरेको स्मरण गर्दै उहाँले कार्यविधि र कर्मचारीको काम गर्ने शैलीका कारण धेरै फ्रिज भएको बताउनु भयो । ‘म मन्त्री हुँदा धनकुटामा खानेपानीको समस्या नहोस् भने धेरै पैसा छुट्टयाइयो । तर काम गर्न नसकेर सबै पैसा फ्रिज भयो’ उहाँले भन्नुभयो, ‘केही क्रमागतमा परेको चाँही यो साल पनि काम हुनेछ । यस्तो हुनु धनकुटेली जनताको लागि दुर्भाग्य हो ।’

विगतदेखि नै सरकारले काम नगरेको आरोप लागे पनि सरकारले जनताको लागि पर्याप्त काम गरिरहेको बताउनु भयो । ‘सरकारले एक जना नागरिकका लागि पर्याप्त लगानी गरेको छ । वडा तहदेखि हेर्नुस् त सरकारले के गरेको छैन ?’ उहाँले भन्नुभयो, ‘वृद्धभत्ता, असक्त र असाहयदेखि स्कुल र स्वास्थ्यमा समेत सरकारको ठूलो लगानी छ । जुन कुरा हामीले बुझ्न सकेनौं र बुझाउन पनि सकेनौं । यही कमजोरीका कारण जनतामा निरासा छाएको हो ।’

सो कार्यक्रममा प्रदेशसभा सदस्य निरन राईले अब स्थानीय जनप्रतिनिधिहरुको कामको मुल्यांकन गर्न जरुरी भइसकेको बताउनु भयो । उहाँले अहिले नै सही समिक्षा नगर्ने हो भने आम नागरिकले सहज रुपमा सेवा सुविधा पाउन नसक्ने उहाँको भनाई छ ।

त्यसैगरी अर्का प्रदेशसभा सदस्य इन्द्रमण पराजुलीले विगतदेखि नै जिल्ला समन्वय समितिले वार्षिक रुपमा समिक्षा गर्ने तर त्यसको नतिजामा खासै सुधार नदेखिएको बताउनु भयो ।

सो कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, नेपाली कांग्रेसका धनकुटा सचिव विजय सन्तोषी राई लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

भोलीसम्म चल्ने सो समिक्षा कार्यक्रमको उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका समन्वय प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा सहभागीहरुलाई समन्वय उपप्रमुख सावित्रा राईले स्वागत गर्नुभएको थियो ।

सो कार्यक्रममा आन्तरिक मुल्यांकन (लिजा) मा पहिलो स्थान हुने चौबिसे गाउँपालिका, दोस्रो हुने साँगुरीगढी गाउँपालिका र तेस्रो हुने पाख्रिबास नगरपालिकालाई सम्मान समेत गरिएको थियो ।