दर्शकको मन जित्दै चलचित्र कोशेढुङगा, रुँदै हल बाहिर निस्किन्छन् दर्शक
‘कोशेढुंगा नेपाली समाजले पछिल्लो समयमा भोग्दै आएको प्रतिनिधिमुलक चलचित्र हो’
धनकुटा । बहुप्रतिक्षित चलचित्र कोशेढुङगा प्रदर्शनमा आएसँगै धनकुटाका दर्शकले मन मनाएका छन् ।
शुक्रबारदेखि धनकुटा सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र कोशेढुंगाले धनकुटामा दर्शकको साथ पाइरहेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत छुट्टै पहिचान बनाउनु निर्देशक सरोज पौडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्र कोशेढुङ्गा प्रदर्शनमा आएपछि धनकुटा सिनेमा हलमा दर्शकको ओइरो लाग्न थालेको छ ।
धनकुटामा पनि प्रदर्शन भइरहेको चलचित्र कोशेढुंगाप्रति दर्शकले निक्कै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ‘कोशेढुंगा नेपाली समाजले पछिल्लो समयमा भोग्दै आएको प्रतिनिधिमुलक चलचित्र हो’ युवा नेता अर्जुन राईले भन्नुभयो, ‘त्यसमा पनि दमदार कथावस्तु र कलाकारहरुको जीवन्त अभिनयले सबैको मन वित्नु स्वभाविकै हो । यस्तै चलचित्रलाई दर्शकले खोजी गर्ने हुन् ।
अहिले यो चलचित्र हेर्न छिमेकी जिल्लाहरु तेह्रथुम, भोजपुर र संखुवासभाबाट समेत दर्शकहरु आइरहेका छन् । तेह्रथुमबाट चलचित्र कोशेढुंगा हेर्न आउनु भएका श्रीकृष्ण लिम्बुले फिल्मको ट्रेलर हेरेर मन परेपछि कोशेढुंगा हेर्न धनकुटा आइपुगेको प्रतिक्रिया दिनुभयो । ‘मैले त आँसु थाम्नै सकिनँ’ उहाँले भन्नुभयो, ‘शुरुमा हसाउने रहेछ, मध्यान्तरपछि त आँसु नझार्ने कोही हुँदैनन् होला ।’
वैदेशिक रोजगारीमा गएको व्यक्ति कसरी बिनाअपराध अपराधी करार हुन्छ । त्यसको असर उसको परिवारमा कस्तो पर्छ भन्ने कुरा चलचित्र कोशेढुंगामा देखाएको छ । ब्लड मनीको कथा उठान गर्नुका साथै चलचित्र कोशेढुंगाले बैदेशिक रोजगारीका समस्यालाई मसिनो रुपमा केलाएका कारण पनि दर्शकले सजिलै मन पराउने गरेका छन् ।
सामाजिक विषय वस्तुमा आधारित रहेकाले पनि चलचित्र कोशेढुंगाका निर्माता किशोर अनुराग र प्रविल कँडेल हुनुहुन्छ । अनुरागले लामो समयसम्म धनकुटामा बसेर रंगमञ्चको विकासका लागि योगदान पु¥याउनु भएको थियो ।
चलचित्र कोशेढुंगामा सुरक्षा पन्त, मञ्जिल कुमार, ऋचा शर्मा, आर्यन सिग्देल, सरोज खनाल, प्रविण खतिवडा, नीति शाह, लोकमणी सापकोटा, सिरु विष्ट, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मी आदी कलाकारको अभिनय रहेको छ ।
यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । कोशेढुंगामा चर्चित गायक खेम सेन्च्युरीले समेत स्वर दिनुभएको छ ।
‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । काठमाडौंमा पनि सेट लगाएर यो सिनेमाको छायांकन गरिएको बताइएको छ । यो चलचित्र नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ प्रदर्शनमा आएको निर्माण पक्षले बताएको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस