नेपाली सेनाद्धारा साँझ ५ बजेसम्म निषेधाज्ञा, त्यसपछि बिहान ६ बजेसम्म कर्फ्यू
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा लगाइएको छ। शान्ति सुरक्षालाई मध्यनजर गरी आज साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा निरन्तर रहने सेनाले जनाएको छ ।
साँझ ५ बजेपछि भने भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने सेनाले जनाएको छ । ‘तत्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने’, सेनाको सूचनामा उल्लेख छ । कर्फ्यूको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किएर सहयोग पुर्याउन सेनाले जनतालाई अनुरोध गरेको छ ।
निषेधाज्ञा तथा कर्फ्युको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु ९एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु० सञ्चालन हुने छन् । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैलाई सेनाले अनुरोध गरेको छ ।
यस क्रममा सम्पूर्ण अवकाशप्राप्त सैनिक लगायत सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडि नलागी आधिकारिक सूचनामात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न नेपाली सेनाले अनुरोध गरेको छ ।
आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोट, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ ।
कर्फ्यूको समयमा एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन हुने छन् । आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षसँग समन्वय भइरहेको सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस