पहिरोले साँगुरीगढी -६ मोक्तेनका ९ घर अत्यन्तै जोखिममा, तत्काल स्थानान्तरण प्रक्रिया शुरु
धनकुटा । केही दिनयता लगातार रुपमा पानी पर्दा धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ मोक्तेनमा रहेका ९ घर अत्यन्तै जोखिममा परेका छन् ।
भेडेटार-रवि-राँके सडक निर्माण गर्ने क्रममा माथिबाट निरन्तर पहिरो खसिरहने र मोक्तेनमा गएको पहिरोका कारण बगिरहेका कारण तत्काल ९ घरलाई अन्य सुरक्षित स्थानमा सार्नुपर्ने भएको छ । त्यसका लागि साँगुरीगढी गाउँपालिकाले उच्च जोखिममा परेका सबै घर परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया शुरु गरेको छ ।
सोही क्रममा आज साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगर, इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरिक्षक रमेश प्रधानको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा छिमेकीहरुको घरमा स्थानान्नतरण गर्ने कार्य शुरु भएको छ ।
पहिरोले धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ मोक्तेनका केवल प्रसाद मगरको ढुङ्गा माटो र टिनको छानोले बनेको २ तले घर पूर्ण रुपमा क्षती भएको छ । हाल नजिकै अस्थाई टहरा बनाई ४ जनाको परिवारलाई बसोबास गर्ने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी सो पहिरोले मोहन मगरको ढुङ्गा माटो र टिनको छानोले बनेको २ तले कच्ची घर, भान्साको विभिन्न भागमा चर्किएको छ । हाल ४ जना सोही घरमा बसिरहेको छ । उनीहरुलाई अन्य सुरक्षित ठाउँमा सार्न बाँकी रहेको छ ।
बिष्ण बहादुर मगरको २ तले घरको विभिन्न भागमा चर्किएर पहिरोको उच्च जोखिममा रहेको छ । कुमारी मगरको २ तले कच्चि घर, राज कुमार मगरको २ तले कच्चि घर, भिम बहादुर मगरको १ तले घर, प्रेम बहादुर मगरको १ तले कच्चि घर, रण बहादुर मगरको २ तले घर र ज्ञान रानाको घर चर्किएर बसोबास गर्न नमिल्ने भएको छ ।
ती सबै घर परिवारालार्ई समयमै सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो । गाउँपालिकाले पीडित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्ने तयारी गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस