धनकुटा अस्पतालको सेवा बारे समिक्षा कार्यक्रम सम्पन्न

धनकुटा FM
७ असोज २०८२, मंगलबार

धनकुटा । धनकुटा अस्पतालमा संचालन भैरहेको डाईलासिस सेवासहित थप विशेषज्ञ सेवाहरुका साथ शल्यक्रिया सेवाहरुका विषयमा समिक्षा गरिएको छ ।

धनकुटा अस्पतालमा आयोजित धनकुटा अस्पतालमा संचालन भैरहेको डाईलासिस सेवासहित थप विशेषज्ञ सेवाहरुका साथ शल्यक्रिया सेवाहरुका विषयमा न्यूनतम सेवा मापदण्ड समिक्षा कार्यक्रममा सेवाहरु प्रभावकारी भइरहेको जानकारी दिएको छ ।

धनकुटा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सिमित साधन स्रोतलाई अत्याधिक परिचालन गरी धनकुटा अस्पतालले महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा धनकुटा अस्पताल व्यवस्थापन समितिको तर्फबाट सदस्य विजय सन्तोषी राईले १५ शैयाको धनकुटा अस्पताल भए पनि यसले धेरै विशेषज्ञ सेवाहरुका साथ प्रभावकारी रुपमा थप स्वास्थ्य सेवाहरु पनि प्रदान गर्दै आईरहेकाले धनकुटा अस्पताल पूर्वी पहाडी जिल्लाहरुकै लागी नमुना अस्पताल भएको बताउनु भयो ।

धनकुटा अस्पतालको प्रमुख डाक्टर सन्तोष राईले धनकुटा अस्पतालको सेवाहरुको वारेमा जानकारी दिँदै डाईलासिस सेवालाई प्रभाकारी रुपमा संचालन गरिएको र हाडजोर्नी, स्त्रिरोग लगायत अन्य धेरै विशेषज्ञ सेवाहरु र शल्यक्रिया सेवाहरु संचालन गरिरहेको बताउनु भयो । उहाँले धनकुटा अस्पतालमा रक्त संचार सेवा, मिनि आईसियू सेवा लगायतका अन्य विभिन्न थप सेवाहरु समेत संचालन गर्न पहल भैरहेको वताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य धनकुटा अस्पतालका प्रमुख डा. सन्तोष राईले गर्नुभएको र कार्यक्रमको संचालन धनकुटा अस्पालका प्रशासन शाखा प्रमुख यज्ञमणी खतिवडाले गर्नु भएको थियो ।

सो कार्यक्रममा डा गौरव शाह, विकास आचार्य, पशुपति खनाल र बालकुमारी तामाङले धनकुटा अस्पतालले दिइरहेका सेवाहरुको प्रगति विवरण पेश गर्नुभएको थियो । धनकुटा अस्पतालले आर्थिक बर्ष २०८१/०८२ मा ७६ अंक प्राप्त गरेको छ ।