पाख्रिबासमा अन्तर जिल्ला स्तरीय सुरक्षा बैठक सम्पन्न, जेनजी आन्दोलनबाट फरार भएका कैदीबन्दीको खोजी कार्य गरिने

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा सुरक्षा अवस्था

धनकुटा FM
८ असोज २०८२, बुधबार

धनकुटा । यही भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट कैदीहरु फरार भएपछि कोशी पहाडी जिल्लामा सतर्कता अपनाइने भएको छ ।

धनकुटाको पाख्रिबासमा बसेको अन्तर जिल्ला स्तरीय सुरक्षा समितिको बैठकमा कोशी पहाडी जिल्लाका सुरक्षा निकायले एक आपसमा सुचना आदान प्रदान गरेर फरार भएका कैदीबन्दीहरुको खोजी कार्य अघि बढाउने निर्णय गरेको छ ।

सो बैठकले चाडपर्वहरुमा कोशी पहाडका सबै जिल्लाहरुमा सहज रुपमा खाद्यन्न आपूर्ती गर्ने, यातयातको व्यवस्थालाई संयुक्त रुपमै सहज बनाउने, विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने लगायतका निर्णयहरु गरेको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा भएको सो अन्तर जिल्ला स्तरीय सुरक्षा समितिको बैठकमा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, भोजपुरका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री, तेह्रथुम कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने, सिंखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, भोजपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामा, नेपाली सेनाको भीमदल गण सल्लेरी धनकुटाका प्रमुख सेनानी गणेश थापा लगायत चार वटै जिल्लाका राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

सो बैठकमा धनकुटाबाट शुरु गरिएको टाइम कार्डलाई सबै जिल्लामा लागू गर्ने सम्बन्धमा पनि छलफल भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनु भयो । सो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा सुरक्षा अवस्था, लागू औषध नियन्त्रण आदी विषयमा पनि छलफल भएको थियो ।