बाढीको वितण्डा : कोशी लोकमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र

धनकुटा FM
१९ असोज २०८२, आइतबार

धनकुटा । गएरातीदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोको कारण कोशी राजमार्गको धरान-धनकुटा सडक अवरुद्ध बनेको छ ।

गए राति उक्त सडक खण्डअन्तर्गत मुलघाट र नमस्ते झरना नजिक सडकमा पहिरो र लेदो माटो थुप्रिएर अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
मध्य पहाडि लोकमार्गको पाख्रिबास नगरपालिका ५ डिकुरे र वडा नं ४ पाख्रिबासमा पहिरो झर्दा दुई स्थानमा बाटो अवरोध भएको छ भने कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका १ चनौटे, घण्टे, सिमसुवा गरी ३ ठाउमा पहिरो गई बाटो अबरोध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरि रवि राँके निर्माणाधिन बाटो साँगुरिगढी ५ लुम्फाजुङमा पहिरो गएको छ । त्यसैगरी तमर करिडोर अन्तर्गत चौविसे गाउँपालिका वडा नं. ४ छरुवा खोलामा बाढी आई वाटो अवरोध भएको प्रहरीले जनाएको छ । पहिरो गएको स्थानमा सडक डिभिजनको जेसिवीबाट पहिरो पन्छाउने कार्य भइरहेको जनाइएको छ ।

प्रशासनले ती सडकमा कुनै प्रकारका सवारी साधन सञ्चालन नगर्न सुचना जारी गरेको छ । धरानबाट धनकुटातर्फ गएका केही सवारी साधनलाई भेडेटार प्रहरीले धरानतर्फ नै फर्काइदिएको छ । धरान–४ स्थित निशाने र शिखरबास क्षेत्रमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।