खोलियो सप्तकोशी ब्यारेज ढोका, पानीको बहाव असामान्य रुपमा बढेपछि सवारी आवतजावतमा रोक

धनकुटा FM
१९ असोज २०८२, आइतबार

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झण्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ढोका खोलिएको छ । भीषण वर्षाले नदीमा उच्च रुपमा बहाव वृद्धि भइरहेको छ ।

सप्तकोशी नदीमा पानीको बहाव असामान्य रुपले बढेको छ । आइतबार बिहान ९ बजे कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेपछि ब्यारेजमा रहेका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । नदीमा एक लाख ५० हजार क्यूसेक बहाव पुग्दा खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिन्छ ।

ब्यारेजमा पानीको बहाव असामान्य रुपमा बढ्दै भएपछि ब्यारेजबाट सवारी आवतजावतमा पूर्णरुपले रोक लगाइएको छ । सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दैगएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।

यसक्रममा स्थानीय प्रशासनले ब्यारेजबाट आवतजावतमा रोक लगाउनुका साथै सप्तकोशी नदी आसपास बस्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आह्वान गरेको छ ।

यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेर मास एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरु तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।