खुल्यो धरान धनकुटाको सडक, तमोर करिडोर र भेडेटार-रवि-राँके सडक भने अझैं अबरुद्ध

धनकुटा FM
१९ असोज २०८२, आइतबार

धनकुटा । गएरातीदेखि अवरुद्ध भएको कोशी राजमार्गको मुलघाट-भेडेटार र पाख्रीवास-लेगुवा खण्ड एकतर्फी संचालनमा आएको छ । तमोर करिडोर, भेडेटार-रविराँके सडक भने अझैं अबरुद्ध छ ।

गएरातीदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोको कारण कोशी राजमार्गको धरान-धनकुटा सडक अवरुद्ध बनेको थियो । गए राति उक्त सडक खण्डअन्तर्गत मुलघाट र नमस्ते झरना नजिक सडकमा पहिरो र लेदो माटो थुप्रिएर अवरुद्ध बनेको थियो । तर शसस्त्र प्रहरी र जनपथ प्रहरीले अवरुद्ध सडक खुलाएको छ ।

मध्य पहाडि लोकमार्गको पाख्रिबास नगरपालिका ५ डिकुरे र वडा नं ४ पाख्रिबासमा पहिरो झर्दा दुई स्थानमा बाटो अवरोध भएको छ भने कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका १ चनौटे, घण्टे, सिमसुवा गरी ३ ठाउमा पहिरो गई बाटो अबरोध भएको थियो । तर बिहानदेखि नै डोजर लगाएर बल्ल सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

त्यसैगरि रवि राँके निर्माणाधिन बाटो साँगुरिगढी ५ लुम्फाजुङमा पहिरो गएको छ । त्यसैगरी तमर करिडोर अन्तर्गत चौविसे गाउँपालिका वडा नं. ४ छरुवा खोलामा बाढी आई वाटो अवरोध भएको प्रहरीले जनाएको छ । यो क्षेत्रमा पनि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।