बाढीपहिरो अपडेट : इलामका विभिन्न ठाउँमा पहिरो जाँदा २८ जनाको मृत्यु
इलाम । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । अबिरल वर्षापश्चात शनिबार राति गएको पहिरोमा परी इलाममा एकै परिवारको ६ जनासहित २८ जनाको मृत्यु भएको हो ।
देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८, माङसेबुङ गाउँपालिका -१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका -१ रातमाटेमा १ र सूर्योदय -१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो । उहाँकाअनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्याएको छ ।
यसैबीच, माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते दुईजनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको इटहरी बेसबाट परिचालित हेलिकोप्टरले एक गर्भवती र एक पुरुषको उद्धार गरेको छ ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा फसेकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ । विशेषगरी इलामको माईजोगमाई नगरपालिका, सूर्योदय नगरपालिका, माङ्सेबुङलगायतका पालिकामा ठूलो क्षति भएको छ । लगातार वर्षाका कारण मेची राजमार्ग ठाउँ(ठाउँमा अवरुद्ध भएको छ । इलाममा ठूलो जनधनको क्षति भएको बताइएको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस