साँढे ३ दिनपछि खुल्यो भेडेटार-रबि-राँके सडक, यातयात सुचारु

तमोर करिडोर सञ्चालनमा आउन समय लाग्ने

धनकुटा FM
२१ असोज २०८२, मंगलबार

धनकुटा । शनिबार रातीदेखि परेको अविरल वर्षाले अवरुद्ध भएको भेडेटार-रबि-राके सडक साँढे ३ दिनपछि सञचालनमा आएको छ । तमोर करिडोर सञ्चालनमा आउन समय लाग्ने भएको छ ।

धनकुटासहित इलाम र पाँचथरलाई जोड्ने भेडेटार–रवि–राँके सडक खण्डअन्तर्गत भेडेटारदेखि ओख्रेसम्म सोमबारदेखि नै सञ्चालनमा आएको थियो भने ओख्रेदेखि डाँडाबजार खण्डअन्तर्गत लुम्फाजुङ र वालुवाखानी क्षेत्रमा भएको अवरुद्ध सडक केहीबेर अघि सञ्चालनमा आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

अविरल वर्षापछि आएको पहिरोका कारण भेडेटार–डाँडाबजार सडक खण्डका तीन स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको थियो । भेडेटार नजिकैको नाम्जे थुम्कीमा गएको पहिरो सोमबार पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार सडक खण्डको पहिरो पन्छाउन समय लाग्ने भएका कारण तमोर करिडोर सञ्चालनमा आउन समय लाग्ने भएको छ । तमोर करिडोर अन्तर्गत चौविसे गाउँपालिका वडा नं. ४ फलामेटारस्थित छरुवा खोलामा आएको भीषण बाढीले निर्माणाधीन पक्की पुलको पिल्लर बाहेकका सबै संरचना बगाएपछि तमोर करिडोरमा सवारी साधनको आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।

सो सडक खण्ड सञ्चालन आउन पनि अझैं समय लाग्ने बताइएको छ । यद्यपि सो सडक खण्डमा भएको अवरोध हटाउन भने शुरु भइसकेको छ ।

चौविसे गाउँपालिका वडा नं. ४ फलामेटार नजिकै छरुवा खोलामा आएको लेदोसहितको बाढीले मेसिनरीसहितको क्रसर बगाएको छ ।निर्माणाधीन तमोर करिडोर सडक र पक्की पुलका लागि गिट्टी, बालुवा उत्पादन गर्न रौता कन्स्ट्रक्शनले क्रसर सञ्चालन गरेको थियो ।