एमाले भन्छ, छथरजोरपाटी गाउँपालिका भित्रका करार र अस्थायी कर्मचारी नहटाउ (सुचनासहित)

धनकुटा FM
२६ असोज २०८२, आइतबार

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको करार र अस्थायी सेवामा कार्यरत कर्मचारीहरुको नियुक्ति र सम्झौता रद्द गर्ने निर्णय गरेपछि नेकपा एमालेले आपत्ति प्रकट गरेको छ ।

गाउँपालिकाको निर्णयलाई पार्टीले जनविरोधी षड्यन्त्रको संज्ञा दिँदै नेकपा एमाले छथरजोरपाटी गाउँपालिका कमिटीले पीडित कर्मचारीहरूप्रति पूर्ण ऐक्यबद्धता र सहानुभूति प्रकट गर्दै गाउँपालिकालाई उक्त निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरेको छ ।

नेकपा एमाले छथरजोरपाटी गाउँपालिका कमिटीले विज्ञप्ति जारी गर्दै गाउँपालिकाले असोज २३ र २४ गते गरेको निर्णयप्रति आपत्ति प्रकट गरेको हो । स्थानीय ऐनमा दरबन्दी निर्धारण गरेर खुल्ला प्रतिष्पर्धामार्फत नियुक्त भएका कर्मचारीहरूलाई एक्कासि निष्कासन गर्नु न्यायपूर्ण नभएको एमाले गाउँपालिका कमिटीको ठहर छ ।

यसलाई नेकपा एमाले छथरजोरपाटी गाउँपालिका कमिटीले गाउँपालिकाको निर्णय गैरजिम्मेवार, अमानवीय, श्रमविरोधी र प्रतिशोधपूर्ण कदम भएको ठहर छ ।

श्रोत सुनिश्चित भै राज्यको नाममा काम गर्दै आएका कर्मचारीहरूको खाईपाई आएको रोजगारी खोस्नु, जनताले घर आँगनमा पाई आएको ल्याब, नापी, चिकित्सकीय अपांगता रोकथाम तथा पुनस्र्थापना र गुणस्तरीय शिक्षा लगायतका सेवा सुविधा कटौती गर्नुलाई अन्याय र विवेकविहीन निर्णय भएको सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको पत्र अनुसार अर्को सूचना जारी नभएसम्म असोज २१ गतेदेखि लागु हुनेगरी अस्थायी नियुक्ति र करार सम्झौता रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।