बस दुर्घटना अपडेट : महालक्ष्मीका २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते (नामावलीसहित)
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ निगाले नजिक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ः४५ बजे धनकुटा नगरपालिका –३ निगालेमा प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा महालक्ष्मी नगरपालिका वडा नं. ६ की ५५ वर्षीया गंगा कार्की र वडा नं. ९ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालकसहित ७ जना यात्रु घाइते भएका छन् ।
सो दुर्घटनामा परी धनकुटा नगरपालिका वडा नं. ४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङको केराबारी गाउँपालिका वडा नं. ९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.९ की ७५ वर्षीया तारादेवी काफ्ले, वडा नं. ८ की १७ वर्षीया खुसी लुङ्गेली, वडा नं. ७ की सृजना जिमी र मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ की ८ वर्षीया अंकिता खड्का र बस चालक सुनसरीको इटहरी उपमहानगरपालिका १७ बालग्राम बस्ने ५० वर्षीय कुलबहादुर मगर घाइते भएका छन् ।
उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनकुटा प्रहरीका अनुसार उकालो बाटोमा टायर पड्किएर बस पल्टिएको हो । बसमा ३० जना यात्रु सवार थिए । बस पल्टिँदा अवरुद्ध भएको सडक १ः४० बजेबाट एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।
बस चालक सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १७ बालग्रामका ५० वर्षीय कुलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँको पनि बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
यसअघि आइतबार मात्रै धनकुटा नगरपालिका वडा नं. ९ स्थित पाँच गोलाईमा बिहान करिव २ बजेतिर धनकुटाबाट सब्जी बोकेर धरानतर्फ जाँदै गरेको प्र -३-०१-००३ क ६९०६ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस