मादेन-बुढिमोरङ सडक धसिँदा आवागमन जोखिमपूर्ण

कुशल याक्खा
१८ कार्तिक २०८२, मंगलबार

धनकुटा । लगातार परेको अविरल वर्षापछि धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ स्थित मादेन बुढिमोरङ सडक अन्तर्गत खोर्साने खोलाको आसपासको सडक खण्ड धसिएर धजा फाटेको छ ।

सडकखण्डमा सडक भासिएपछि सो क्षेत्रबाट सवारीसाधन आवागमन गर्न अत्यन्तै खतरापूर्ण अवस्था सिर्जना भएको छ । स्थानीय बासिन्दाले तत्काल सडक मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवाला निकाय र स्थानीय सरकारलाई अपिल गरेका छन् ।

साँगुरीगढी वडा नं. ३ का कार्य वाहाक वडा अध्यक्ष केशर लिम्बूले अविरल वर्षाका कारण सडक कमजोर बनेको र मर्मतका लागि आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सम्बन्धित प्राविधिक टोलीलाई तत्काल स्थलमा खटाई सडक मर्मत र पुनःस्थापना कार्य अघि बढाइने जानकारी दिनु भयो ।