जेनजी आन्दोलनका क्रममा मृत्यु भएका धनकुटाका छत्रमान कुथुमीलाई सहिद घोषणा

धनकुटा FM
१८ कार्तिक २०८२, मंगलबार

धनकुटा । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका धनकुटाका छत्रमान कुथुमीलाई सहिद घोषणा गरेको छ । सरकारले आज कुथुमीसहित ४५ जना जेनजी सहिद घोषणा गरेको हो ।

धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. १० चुङमाङका ६४ वर्षीय राईको आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएको थियो । उहाँको जन्मस्थल पाख्रिबास नगरपालिका वडा नं. १० चुङमाङस्थित घर नजिकै बारीमा किरात संस्कार अनुसार कुथुमीको असोज १ गते अन्त्येष्टि गरिएको थियो ।

कुथुमी अढाई दशकदेखि काठमाडौंमा बस्दै आउनुभएको थियो । आफूलाई राष्ट्रवादी राजनीतिक जनजागरण अभियानमा आबद्ध भएको बताउने कुथुमी जेन–जीले आह्वान गरेको आन्दोलनमा मिसिनुभएको थियो । उहाँले काठमाडौंमा धामी–झाँक्री र सानोतिनो व्यवसाय गर्दै आउनुभएको थियो । दुई श्रीमतीबाट उहाँका ६ सन्तान छन् ।

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरुले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।