धनकुटालाई खोरेत रोग मुक्त बनाइने, आजदेखि खोप अभियान शुरु

पवित्रा मगर
२३ कार्तिक २०८२, आइतबार

धनकुटा । धनकुटालाई खोरेत रोगमुक्त जिल्ला बनाउने लक्ष्यसहित धनकुटा नगरपालिकाबाट गाई र भैंसीमा निःशुल्क खोप लगाउने अभियान सुरु भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले धनकुटा नगरपालिका वडा नंं ३ स्थित निलगिरी एकीकृत नर्सरी फर्मबाट पशुलाई निःशुल्क खोप लगाउँदै खोप अभियानको थालनी गरेको हो । आज गाई ७ वटा, ४ वटा बाच्छाबाच्छी, एउटा भैसीलाई निःशुल्क खोप लगाइएको छ ।

धनकुटा जिल्लामा पहिलो चरणमा ५५ हजार डोज खोप वितरण गरिने लक्ष्य रहेको छ । जसअन्तर्गत धनकुटाका सात वटै स्थानीय तहमा खोरेत रोग विरुद्धको खोप पठाएको छ ।

धनकुटा नगरपालिकामा ५ हजार, पाख्रिबास नगरपालिकामा ९ हजार, महालक्ष्मी नगरपालिकामा ९ हजार, सहिदभुमी गाउँपालिकामा ५ हजार, छथरजोरपाटी गाउँपालिकामा ७ हजार, साँगुरीगढी गाउँपालिकामा १० हजार र चौबिसे गाउँपालिकामा १० हजार गरी ५५ हजार खोप पठाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख हिमादेवी गौतमले बताउनु भयो ।