कर्मचारीसँग लफडा गर्ने वडाध्यक्ष धनकुटामा सम्मानित
धनकुटा । साँगुरीगढी गाउँपालिका योजना शाखामा कार्यरत कर्मचारीलाई कार्यकक्षमै हातपातमा संलग्न रहेका भनिएका वडाध्यक्षलाई नेकपा एमाले धनकुटाले दोसल्ला ओडाएर सम्मान गरेको छ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापनाका लागि आज धनकुटामा आयोजित वृहत जनप्रदर्शन तथा आमसभाको अवसरमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बूलाई माला र खदा लगाइदिएर सम्मान गरेको हो ।
कार्यक्रम जिल्ला सचिव पर्शुराम नेपालले जनप्रिय वडाध्यक्ष, जनताको मन जित्ने लिम्बूले वडाको विकास निर्माणमा उत्कृष्ट काम गरेको र जनताको काम गर्दागर्दैै कर्मचारीबाट कुटिएको भन्दै उत्प्रेरणा स्वरुप जिल्ला अध्यक्ष शिव आङ्ला, केन्द्रिय सदस्य तथा धनकुटा ईन्चार्ज पूर्वमन्त्री राजेन्द्रकुमार राई लगायतले माला र खदा ओढाइ दिनुभएको थियो ।
केहि दिनअघि मात्रै वडाध्यक्ष लिम्बू र योजना अधिकृत द्रोर्णवहादुर राईबीच कार्यकक्षमा कुटाकुट भएको थियो । सो कुटाकटबाट अध्यक्ष लिम्बुको औला भाँचिएको बताइएको छ भने राईको दाँत हल्लिएको बताएको छ । सो घटनापछि पालिकामा कार्यरत कर्मचारी संघ संगठन लगायतले विज्ञप्ती निकाल्दै कडा कार्वाहीको माग गरेका थिए ।
यता वडाध्यक्षले लिम्बूले पनि योजना अधिकृत राईबाट आफूलाई हातपात भएको विज्ञप्तीमार्फत् बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस