धनकुटाको जोरपाटीबाट खैरो हिरोइनसहित उदयपुरका कार्की पक्राउ, गाँजासहित मोटर साइकल नियन्त्रणमा

धनकुटा FM
४ मंसिर २०८२, बिहिवार

धनकुटा । प्रहरीले धनकुटामा लागू औषध खैरो हिरोइन र गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ । मोटरसाइकल पनि पक्राउ गरेको छ ।

धनकुटाको जोरपाटीबाट प्रहरीले लागू औषध खैरो हिरोइनसहित १ जनालाई पक्राउ गरेको छ । हिजो रातको समयमा लागू औषधको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरी चौकी हिले प्रहरी नायव निरीक्षक चिरन्जीवी खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ३१० मिलिग्राम (प्लाष्टिक बाहेक २०० मिलिग्राम) सहित उदयपुरको बेलका नगरपालिका वडा नं. ९ का २२ वर्षीय अर्जुन कार्कीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

कार्की हाल धनकटा नगरपालिका वडा नं. १ त्रिशुलेमा रहेको त्रिशुले अस्पाल प्लान्ट्मा काम गर्ने कामदार हुन् । उनलाई छथरजोरपाटी गाँउपालिका वडा नं. २ जोरपाटी बजारमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजको साथबाट स–साना ३ वटा प्लाष्टिकको पोकामा प्याक गरी लुकाई छिपाई राखेको लागुऔषधसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जनाकारी दिनुभयो ।

यता, धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १ लावरबोटेमा गाँजासहित प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । धनकुटाको मूलघाटबाट धरान जाँदै गरेको प्रदेश १–०२–०४४ प ७४५२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा प्रहरीले गाँजा फेला पारेको हो ।

चेकजाँचका क्रममा भागेको मोटरसाइकलले प्रहरी चौकी मूलघाटमा कार्यरत प्रहरी जवान निमदोर्ची शेर्पालाई ठक्कर दिएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट शेर्पा घाइते भएका छन् । बरामद भएको आठ किलो गाँजा र मोटरसाइकल प्रहरी चौकी मूलघाटमा राखिएको छ । मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी कार्कीले जानकारी दिनुभयो ।