धनकुटामा एमालेको बढ्यो चहलपहल : महाधिवेसन प्रतिनिधि छान्नै सकस
धनकुटा । नेकपा एमालेको एघारौं महाधिवेसनको मिति नजिँकिँदै गर्दा धनकुटामा नेकपा एमालेको चहलपहल निक्कै बढेको छ । त्यसमा पनि प्रतिनिधि छनौटको विषयले नेता कार्यकर्ताहरुमा प्रेसर पनि बढाएको छ ।
धनकुटामा ११ औं महाधिवेसनका लागि खुल्लातर्फ ७ जना, महिला ४ जना, ४० वर्षमुनिका युवा १ जना र एक जना दलित गरी महाधिवेशनका लागि १३ जना प्रतिनिधि छनौट हुनेछन् । अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका केन्द्रिय सदस्य स्वतः महाधिवेसन प्रतिनिधि हुनेछन् ।
धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुलीको स्पष्ट दुई खेमा छन् । यी दुवै खेमाबाट अधिकतम् धेरै प्रतिनिधि लैजाने दाउँमा छन् । यद्यपि धनकुटामा राजेन्द्र राईको खेमा बलियो भएका कारण सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास गरिँदैछ । यद्यपि अहिलेसम्म सहमतिको सम्भावना नहुँदा दुबै खेमा निर्वाचन प्रक्रियाबाटै प्रतिनिधि छनोटका लागि आन्तरिक तयारीमा जुटेको छ ।
खुल्लातर्फ ७ जनामध्ये अध्यक्ष शिव आङ्ला, प्रदेश सांसदहरु इन्द्रमणी पराजुली र निरन राई, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, पार्टीको कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला पार्टी सचिव पर्शुराम नेपाल, पालिका प्रमुखहरु मनोज राई र चिन्तन तामाङसहित कमल कार्की, गणेश राई ‘उज्वल’ लगायतको चर्चा छ ।
महिलातर्फ सावित्रा राई, निर्मला इवाहाङ, सम्झना आले, तारा तितुङ, यज्ञकुमारी रुचाल, गोमा कार्की, देवकला तिमिल्सिना, मन्जु कार्की लगायतले दावी गरिरहेका छन् ।
युवातर्फ रविन कटेल, सरोज राई, वसन्त तुप्रिहाङ, तुलषा पौडेल लगायतले दावी गर्दा दलिततर्फ नैन विश्वकर्मा, मानबहादुर विश्वकर्मा, मदन बसेल, कोपिला शंकर लगायतले दावी गरिरहेका छन् । धनकुटामा नेकपा एमालेमा ८ हजार २ सय ३६ संगठित सदस्य छन् । उनीहरुले नै प्रतिनिधि छनौटमा मतदान गर्न पाउनेछन् ।
सहमतिबाट टुङ्गिन नसके मतदान प्रकृयाबाटै भए पनि प्रतिनिधि छनौट गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।
१३ जना प्रतिनिधि छनोट गर्न निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले प्रतिनिधि छनोटका लागि मंसिर १३ गतेसम्मको तालिका सार्वजनिक गरिएको हो ।
जस अनुसार मतदाता नामावली प्रकाशन गरिसकेको छ भने आज साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोधको समय निर्धारण गरिएको छ । १० गते बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन र दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोधको समय तोकिएको छ ।
त्यस्तै ११ गते दिउँसो ४ः५० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । १४ गते मतगणना र सोही दिन ४ बजेपछि निर्वाचनको परिणाम घोषणा गर्ने योजना बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस