काजीमानेमा काजिमान आमन्त्रित पुरुष फुटबल प्रतियोगिता जारी, भोलि सेमिफाइनल हुने
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं. ३ काजीमानेमा जारी ५ औँ काजिमान आमन्त्रित पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दुई वटा खेलहरु सम्पन्न भएका छन् ।
५ औँ काजिमान आमन्त्रित पुरुष फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज दोस्रो दिनको पहिलो खेल कोशी पुलिस रानी बिराटनगर र दियालो जलकल्याण सुनसरीबीच भएको थियो ।
सो खेलमा कोशी पुलिसले दियालो जलकल्याणलाई ३–० को अन्तरले पराजित गरेको छ । उत्कृष्ट प्रयास गरे पनि दियालो जलकल्याण सुनसरीले गोल फर्काउन सकेन । पहिलो खेलमा कोशी पुलिसका म्यान अफ द म्याच सनम अधिकारी घोषित हुनभयो ।
त्यस्तै सुन्दर खोर्साने फुटवल क्लव र सुनसरीको पानबारी एफसी बीचको दोस्रो खेलमा ४–० गोल गर्दै सुन्दर खोर्साने सेमिफाइनल प्रवेश गरेको छ । सो खेलमा सुन्दर खोर्सानेका सुबास तामाङ म्यान अफ द म्याच घोषित हुनुभयो ।
भोलि कोशी पुलिस रानी बिराटनगर र आयोजक काजिमान समाज तथा याङ्लिखाम र सुन्दर खोर्सानेबीच सेमिफाइनल खेल हुनेछ ।
खेलसँगै ढोल–नाच र सांस्कृतिक प्रस्तुति आयोजना गरिएको थियो । जसले प्रतियोगिताको आकर्षण अझ बढाएको थियो । राजेश चोङ्बाङ लिम्बूले आजका दुवै खेल सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो ।
सो प्रतियोगितामा प्रथम हुनेले ९० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ६० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस