धनकुटामा निर्वाचन बहिष्कारमा लागेका नेताहरुलाई कारवाही गर्ने तयारी, को को छन् कारवाहीको लिष्टमा ?

उपाध्यक्ष चिन्तन तामाङको संयोजकत्वमा ७ सदस्य छानविन कार्यदल गठन

धनकुटा FM
१९ मंसिर २०८२, शुक्रवार

धनकुटा । नेकपा एमाले ११ औं महाधिवेसन प्रतिनिधि छनोटका क्रममा भएको निर्वाचन बहिष्कार अभियानमा लागेकाहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

महाधिवेसन प्रतिनिधि चयन गर्न नेकपा एमाले धनकुटाको यही मंशिर १३ गते आइतबार निर्वाचन भएको थियो । तर नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र राई पक्षधरले एकलौटी रुपमा सहमति विपरित निर्वाचन गराएको भन्दै प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली पक्षधर नेताहरुले पार्टी कार्यालयमा रहेको मतदान स्थलमा मतपत्र च्यातेका थिए भने निर्वाचन कार्यालय तालाबन्दी समेत गरेका थिए ।

सो कार्यमा संलग्न रहेको भन्दै नेकपा एमाले धनकुटाले केन्द्रिय सदस्य सकुन्तला बस्नेत, कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणी पराजुली, प्रदेश कमिटि सदस्य बलदिप राई, जिल्ला कमिटी सदस्य तथा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, कोशी प्रदेश स्थानीय विभाग सचिव निरेन तामाङ, जिल्ला कमिटी सदस्य प्रविण पोख्रेल, कोशी प्रदेश वित्त तथा कोष व्यवस्थापन प्रमुख मनकुमारी तितुङ तारा, महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्की लगायतलाई कारवाही गर्ने तयारी गरेको हो ।

पार्टीले महाधिवेसन प्रतिनिधि छनोटका लागि गरेको मतदान प्रक्रियामा सहभागी नभई अबान्छनीय कार्यमा संलग्न रहेको ठहर गर्दै मंगलबार बसेको जिल्ला कमिटी सचिवालय बैठकले उपाध्यक्ष तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको संयोजकत्वमा ७ सदस्य छानविन कार्यदल गठन गरेको छ । अहिले सो समितिले सो दिन भएको घटनाको छानविन गरिरहेको र के कारवाही गर्ने भन्ने विषयमा प्रतिवेदनका आधारमा निर्णय गरिने नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।

‘आफ्ना फरक मत राख्न पाइन्छ । यो लोकतान्त्रिक पद्धति नै हो’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा जानु पनि लोकतान्त्रिक प्रक्रिया हो । तर, पार्टीको बदनाम गर्नेगरी मतपत्र च्यात्ने, निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वा पार्टीका नेताहरुमाथि हातपातको प्रयास गर्नेलाई केही नसियत दिनुपर्ने अवस्था आएकै छ ।’

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि धनकुटामा भएको प्रतिनिधि छनौट निष्पक्ष र पारदर्शी नभएको भन्दै नेकपा एमाले केन्द्रीय संगठन विभागले प्रतिनिधि छनौट प्रक्रिया पुनः अघि बढाउन निर्देशन दिइसकेको छ । तर, निर्वाचित महाधिवेसन प्रतिनिधि सहितका नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुनयका लागि काठमाडौं गएका कारण पुनः निर्वाचन हुने वा नहुने भन्ने अन्योल भएको छ ।

पराजुलीसहित उहाँका पक्षका नेताले राई पक्षले मनोमानी गरेर अघि बढाएको मतदान नमानिने बताउँदै आएका थिए । उनीहरुले निर्वाचन बहिष्कार गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै मतपत्र समेत च्यातेका थिए । सबै पक्षलाई मिलाएर लैजाने सहमति विपरित रातारात निर्वाचनको तयारी गरिएको र निर्वाचनका बेला उनीहरुले चाउचाउको कार्टुनमा समेत मतदान गरिएको बताउँदै फर्जी मतदान गरिएको आरोप लगाएका थिए । पराजुली पक्षबाट ५ वटा उजुरी परेपछि केन्द्रिय संगठन विभागले ५ दिनभित्र पुनः निर्वाचन गराउन निर्देशन दिएको छ ।

धनकुटामा विवाद गरिरहेका नेताहरु राई र पराजुली दुवै एमाले अध्यक्ष केपी ओली पक्षका नेता हुनुहुन्छ । उहाँहरुको विवाद भनेको केन्द्रको आधारमा नभई जिल्लामै कसले प्रभुत्व जमाउने र को पार्टी ओलीको नजिक देखिने भन्नेमा रहेको नेताहरुले बताउने गरेका छन् ।