पाख्रिबासका नगरप्रमुख गुरुङ भन्छन्, ‘दाही गर्न, थन्क्याउन, गाई भैँसी ब्याउन कार्यकारी अधिकृत चाँहिदैन’

धनकुटा FM
२२ मंसिर २०८२, सोमबार

धनकुटा । पटकपटक कार्यकारी अधिकृतको सरुवा हुन थालेपछि धनकुटाको पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले संघीय सरकारप्रति असन्तुष्टि सहितको व्यांग्य पत्र पठाउनुभएको छ ।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उनले दिनहुँ फरक–फरक प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै व्यंग्य गर्नुभएको छ ।

नगरप्रमुख गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ गरिएको पत्रमा पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक तथा आर्थिक कामकाज हुँदा र नहुँदा कुनै समस्या नरहेको उल्लेख गर्नुभएको छ ।

नगर प्रमुख गुरुङले हाकिम साहब दुई/चार दिनको बिदामा जानु भएपछि उतैबाट सरुवा र अहिले हाकिम खोज्न हिँड्नुपर्ने अवस्था आउँदा जनताको काम रोकिएपछि बाध्य भएर मन्त्रालयलाई पत्र लेख्न बाध्य भएको उहाँको भनाई छ ।

नगरप्रमुख गुरुङले छोटो समयमा नै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने र पठाउन ढिलो हुँदा दैनिक कामकाजमा समस्या पर्ने गरेको हुँदा व्यंग्यात्मक पत्र पठाएको बताउनुभयो ।

सो पत्रमा ‘धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैँसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल लगाउन फूल्न, फल्न र सो को निकासा गरी बिक्री वितरण गर्न कुनै समस्या नरहेकोले मन्त्रालयबाट प्रत्येक महिना वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ’, भनिएको छ ।

बिदामा गएका हाकिम बिदा सकेर नगरपालिका आउन नपाउँदै उतैबाट सरुवा भएको उहाँको भनाई छ । यसले पालिकामा काम गर्नसमेत समस्या हुने गरेको उहाँले बताउनुभयो ।