श्रम संस्कृति पार्टीले धनकुटामा २५ गते बृहत जनप्रदर्शन गर्ने

धनकुटा एफ. एम.
२२ मंसिर २०८२, सोमबार

धनकुटा । विभिन्न जिल्लाहरुमा जनप्रदर्शन गर्दै आएको श्रम संस्कृति पार्टीले धनकुटामा बृहत जनप्रदर्शन गर्ने भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीले आउने २५ गते धनकुटामा बृहत जनप्रदर्शन कार्यक्रम गर्न लागेको हो ।

पार्टीका जिल्ला तदर्थ समितिका अध्यक्ष आकाश राईको अध्यक्षतामा आज आयोजित पत्रकार सम्मेलन गरेर बृहत जनप्रदर्शन कार्यक्रमलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ ।

धनकुटा बसपार्कबाट शुरु भएको जनप्रदर्शन तल्लो टुँडिखेलमा आमसभाको आयोजना हुनेछ । कार्यक्रमसँगै पार्टी प्रबेशको कार्यक्रम रहेको जानकारी दिइएको छ । पार्टी अध्यक्ष साम्पाङले पार्टी स्थापनाको उद्देश्य, कार्यदिशा, संगठन विस्तार र आगामी निर्वाचनलाई केन्द्रीत गरी सम्बोधन गर्ने जनाइएको छ । श्रम संस्कृति पार्टी मातृभूमिको रक्षाको लागि जन्मिएको भन्दै माटोको रक्षाका सबै एकजुट हुनुपर्ने जिल्ला अध्यक्ष राईले बताउनुभयो ।

सभा धनकुटाको तल्लो टुँडिखेलमा हुनेछ । धनकुटा बसपार्कबाट निकालिने र्‍याली टुँडिखेलमा पुगेर कोणसभामा परिणत हुने छ । सोही दिन धनकुटामा पार्टी कार्यालयको उद्घाटन पनि हुने बताइएको छ ।

सो पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य सानबहादुर राई, धनकुटा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मरिक लिम्बु, धनकुटा कोषाध्यक्ष कमला राई, सल्लाहकार इश्वर अकेला श्रेष्ठ लगायतले श्रम गरेर मात्र मुलुकको विकास गर्न सकिने बताउनु भयो ।