नेपाली कम्युनिष्ट पार्टी धनकुटाको एकता सन्देश सभा पुस १३ गते कार्यक्रम हुने, भीम रावलले सम्बोधन गर्ने

धनकुटा FM
९ पुष २०८२, बुधबार

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टीले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै पुस १३ गते धनकुटा सदरमुकाममा एकता सन्देश सहितको कार्यक्रम गर्ने जानकारी दिएको हो । सो एकता सभालाई नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सम्बोधन गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका विभिन्न दलहरुको एकतापछि देशका ७ वटै प्रदेशमा एकता सन्देश कार्यक्रम सम्पन्न भइसकेको छ भने कोशी प्रदेशमा पनि मंसिर १५ गते बृहत् कार्यक्रममार्फत प्रदेशमा एकता गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सोही अभियान अन्तर्गत धनकुटा जिल्लामा पनि जिल्ला स्तरीय संगठनात्मक संरचना तयार गर्दै पुस १३ गते धनकुटा सदरमुकाममा जुलुस, प्रदर्शन तथा सम्बोधन सहित कार्यक्रम आयोजना गरिने नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य धर्मराज पौडेलले जानकारी दिनुभयो ।

आज धनकुटामा गरिएको सो पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य धनमाया विश्वकर्माले नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरुबीच भएको एकताले जनतामा नयाँ जोश, जाँगर र उत्साह पैदा गरेको दाबी गर्नुभयो ।

उहाँले पुस १३ गते धनकुटामा जिल्ला एकता सभा सम्पन्न गरेपछि धनकुटा जिल्लाका सातै स्थानीय तहमा समेत एकता सन्देश कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

साविकको नेकपा माओवादी केन्द्र धनकुटा संयोजक कुसुम श्रेष्ठको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा प्रदेश कमिटी सदस्यहरु नगेन्द्र गहतराज, गोपाल बराइली, भरत राई, गीता खेवा, रामबहादुर थापा, नयन श्रेष्ठ, सरीता बराइली, साविकको माओवादी केन्द्र धनकुटा नगर अध्यक्ष खगेन्द्र विष्ट लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन ओम प्रकाश निरौलाले सञ्चालन गर्नुभएको थियो ।

पार्टीले सञ्चारकर्मी, नागरिक समाज तथा सर्वसाधारणलाई कार्यक्रम सफल बनाउन सहयोगको अपिल गर्दै पुस १३ गते हुने एकता सन्देश कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध समेत गरिएको छ ।