एमाले धनकुटामा विवाद कामयमै : उम्मेदवार सिफारीसमा एकल भनिएपछि आकांक्षीको खण्डन

धनकुटा FM
२१ पुष २०८२, सोमबार

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनकुटाबाट नेकपा एमालेले राजेन्द्र कुमार राईको एकल नाम सिफारीस गरेपछि विवाद बढेको छ ।

आइतबार धनकुटामा बसेको जिल्ला कमिटी बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि धनकुटाबाट एकल नाम सिफारीस गरेको बताइएको थियो । तर उम्मेदवारका आकांक्षी तथा नेकपा एमालेका निवर्तमान केन्द्रिय सदस्य सकुन्तला बस्नेतले आपत्ति जनाउनु भएको छ ।

निवर्तमान केन्द्रिय सदस्य बस्नेतले विज्ञप्ती जारी गर्दै केन्द्रले महिलासहित ३ जनाको नाम सिफारीस गर्न दिएको परिपत्र विपरित आकांक्षीहरु हुँदाहुँदै बहुमतको दम्भ देखाउँदै एकल नाम सिफारीस गरिएको भन्दै आपत्ति जनाउनु भएकोे हो ।

आइतबारको बैठकमा कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ र सकुन्तला बस्नेतले भने आफ्नो नाम पनि सिफारीस गर्न आग्रह गर्नुभएको थियो । तर बहुमतले राईको नाम सिफारीस गरेको बताइएको छ । दुवै जना इन्द्रमणी पराजुली पक्षधर हुनुहुन्छ ।

धनकुटामा राजेन्द्र राई र पराजुली पक्षबीच लामो समयदेखि द्धन्द्ध चल्दै आएको छ । मंसिर १३ गते भएको महाधिवेसन प्रतिनिधि छनोटमा पनि राई पक्षले एकलौटी रुपमा आफु निकटलाई महाधिवेसन प्रतिनिधि बनाएको भन्दै केन्द्रमा उजुरी परेको थियो ।

नेकपा एमाले धनकुटाले एकल नाम सिफारीस गरेपछि उम्मेदवारका आकांक्षी टिकाराम चेम्जोङले पनि आपत्ति जनाउनु भएको छ । सामाजिक सञ्जालमा पार्टीले आकांक्षीहरुको समेत सहमतिमा एकल उम्मेदवार सिफारीस गरिएको भन्ने भ्रम रहेको उल्लेख गर्नुभएको छ ।

‘बैठकबाट एकल नाम सिफारिस गरिएको भन्ने निर्णय हामी आकांक्षीहरु समेतको सहमतिबाट भएको भन्ने सत्य होइन । पहिलो एकल नाममा सहमति एक जना मात्र आकांक्षी भएको अवस्थामा हुन सक्छ । दोस्रो धेरै जना आकांक्षी भएको अवस्थामा आकांक्षीहरु बीच सहमति जुटेपछि सहमति हुन्छ । यी दुवै अवस्था होइन’ चेम्जोङले भन्नु भएको छ, ‘त्यसैले आकांक्षीहरुको समेत बेवास्ता र अपमानित गर्ने गरी हामीबाट एक शब्द राय नबुझी एकल नाम सिफारिस गर्ने निर्णय गरिएको छ भन्ने निर्णय प्रकृयाप्रति आफ्नो सहमति नरहेको जानकारी गराउन चाहन्छु ।’

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुने समय नजिकिँदै गर्दा एमालेमा भएको विवादले एमालेलाई धक्का पुग्ने आँकलन गर्न थालिएको छ । धनकुटा लामो समयदेखि राजनीतिक रुपमा नेकपा एमालेको कब्जामा छ ।

२०७४ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेले धनकुटामा क्लीन स्वीप गरेको थियो । तर २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समावजादीबीच चुनावी गठबन्धन हुँदा ४ वटा स्थानीय तह एमालेले गुमाएको थियो । प्रदेश र प्रतिनिधिसभामा भने एमालेले जित पारेको थियो ।