धनकुटाका एमाले नेता इन्द्रमणि पराजुली कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त
सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने, प्रदेशका आवश्यक कानुनहरु निर्माण गर्ने लगायतका निर्णयमा हस्ताक्षर
धनकुटा । धनकुटाका एमाले नेता इन्द्रमणि पराजुली कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद विस्तार गर्दा धनकुटा प्रदेश सभा ‘ख’ बाट निर्वाचित हुनु भएका पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाउनुभएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. १ जन्मिनुभएका पराजुली एमाले कोशी प्रदेशका सचिवालय सदस्य पनि हुनुहुन्छ । एमाले धनकुटाका पूर्व अध्यक्ष समेत रहनुभएका पराजुली दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय बन्दै आउनुभएका पराजुली पहिलोपटक मन्त्री बन्नुभएको हो ।
उहाँ २०७४ को प्रदेश सभा निर्वाचनमा २० हजार ६ सय ५२ मतसहित निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अर्जुन थापालाई १२ हजार चार सय २१ को फराकिलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएकोे थियो ।
त्यसैगरी २०७९ सालमा भएको निर्वाचनमा पराजुली १५ हजार ७ सय ९७ मत ल्याउंदै विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाओवादी) का कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत प्राप्त गनुभएको थियो ।
आज मन्त्री पदको सपथ लिए लगत्तै उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ । पदभार गरेसँगै सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने, प्रदेशका आवश्यक कानुनहरु निर्माण गर्ने, कार्य सम्पादनका आधारमा पुरस्कार र दण्ड सजाय सहितको व्यवस्था गर्ने र प्रदेशमा हुने जुनसुकै विपतमा परेकालाई तत्काल उद्धार र राहत उपलब्ध गराउने निर्णय गर्नुभएकोे छ ।



प्रतिक्रिया दिनुहोस