निर्वाचन प्रहरीमा पुनः आवेदन गरेसँगै आवेदनकर्ताहरुको संख्या ह्वात्तै बढ्यो, २ दिनमै ४९३ जनाको आवेदन
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धनकुटामा निर्वाचन प्रहरीमा पुनः आवेदन गरेसँगै आवेदनकर्ताहरुको संख्या ह्वात्तै बढेको छ ।
धनकुटाका लागि १ हजार ८५ जना निर्वाचन प्रहरी आवश्यक पर्ने भए पनि अपुग भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले २ दिनका लागि पुनः आवेदन खुलाएको थियो ।
माघ ३ गतेसम्म आवेदन दिएकाहरुको सबै प्रक्रिया सकिएर पनि निर्वाचन प्रहरीका लागि अपुग भएपछि शनिबार र आइतबारदेखि पुनः जिल्ला प्रहरी कार्यालय धनकुटाका साथै सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्म छारागाउँ, इलाका प्रहरी कार्यालय राजारानी र इलाका प्रहरी कार्यालय छिन्ताङबाट समेत आवेदन लिन थालिएको थियो ।
दुई दिनको अवधीमा ४ सय ९३ जनाले आवेदन दिएका छन् । धनकुटाका लागि नेपाल प्रहरीतर्फ नौ सय ८९ जनाको कोटा तोकिएको थियो भने सशस्त्र प्रहरीतर्फ ९६ जनाको कोटा थियो । तर पुनः आवेदन माग गरिएपछि नेपाल प्रहरीतर्फ दुई दिनमा ४ सय ६५ जनाको आवदेन परेको छ भने शसस्त्र प्रहरीतर्फ ३१ जनाको उम्मेदवारी परेको छ ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरेको थियो । तर सो अवधीमा पनि कम आवेदन परेको थियो । सो अवधीमा परेका आवेदनहरुबाट प्रतिष्पर्धाबाट शारिरीक परिक्षणका साथै लिखित परिक्षासमेत भइसकेको छ ।
शनिबार र आइतबार आवेदन दिएकाहरुको सबै प्रकारका परिक्षणहरु आज बिहान ९ बजेदेखि हुने र आज साँझसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन प्रहरी भर्ना छनोट उपसमितिका सदस्य सचिव तथा जिल्ला प्रहरी कार्यालय धनकुटाका इनिस्पिेक्टर किशोर तामाङले जानकारी दिनुभयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस