एकैदिन १ हजार १६० केजी गाँजा बरामद, ४ जना पक्राउ
धनकुटा । पछिल्लो समयमा धनकुटाबाट अवैध मानिएको गाँजा पक्राउ अभियान तीव्र भएको छ । प्रहरीले एकैदिन १ हजार १ सय ६० केजी गाँजा पक्राउ गरेका छ भने ४ जना पक्राउ परेका छन् ।
प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ विषेश सूचनाका आधारमा उनीहरूलाई प्रहरीले गाजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–७, गर्जुवाका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन् । जङ्गलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाइ राखिएको १० वटा बोरामा जम्मा दुई सय पाँच किलोग्राम गाँजा बरामद गरीएको धनकुटाका प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
यता, धनकुटाको साँगुरीगढी गाउँपालिकाको आहालेस्थित चाँदीबजारबाट सुनसरीतर्फ लैजादै गरेका अवस्थामा प्रहरीले ९ सय ५५ केजी गाँजा बरामद गरेको छ ।
धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित बरडाँडाबाट प्रहरीले दुई वटा सवारी साधन सहित उक्त परिमाणको गाँजा मंगलबार बिहान बरामद गरेको हो ।
यसक्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोल्वी नगरपालिका ८ का २८ वर्षीय सन्दीपकुमार माझी र काठमाडौंको चन्द्रागिरी नगरपालिका ८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ रहेको सुनसरी प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस