माथ्लो घरमा पूजा छ रे
आज माथ्लो घरमा फेरि पुजा छ रे,
जाऊ की नजाऊ ! प्रसादमा मासुभात छ रे !!
नजाऊ एक भुल, मर्दासम्म बाँच्नै गाह्रो पर्छ रे,
जाऊ अर्को भुल, भोलिदेखि नखाए नी
सात जुनसम्म गन्हाउँछ रे !
भक्त त म देशकै हो
तर,
भक्तिले मात्र नपुग्ने रैछ
छाक पनि त टार्न पर्यो
माटोमा रोपेको धानले मात्र नपुग्ने रैछ
गमलामा पनि त रोप्न पर्यो
उजाडिन लागेको त्यो सिमलको रुखमा
एउटा कोईली जस्तै काग झुल्किएको छ
जसको बोलीमा म जस्तो भक्तको लामै लाइन छ
चिना राम्रै छ, कुण्डली बिग्रेको जस्तो लाग्दैन
तर,
नेपाल ग्रह दशामा चल्ने देश हो
पाइला चाल्नेकाे दशा बिग्रिन समय लाग्दैन
त्यही रुखको फेदमा सेतै फुलेकाे फूल छ
मलाई भन्दा बढी उसैलाई मोह छ
आराम गर्न पलङ भन्दा बढी कुर्सी प्यारो छ
मलाई भन्दा बढी उसलाई थाहा हुनुपर्छ
बुकी फूल सधैं मर्ने बेलामा नै फुल्छ ।
आज फेरी माथ्लो घरमा पूजा छ रे !
जाऊ की नजाऊ, प्रसादमा मासुभात छ रे !!


प्रतिक्रिया दिनुहोस