निर्वाचनमा मौन अवधी शुरु, धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

धनकुटा FM
१९ फागुन २०८२, मंगलबार

धनकुटा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएका छन् । निर्वाचन कर्मचारीहरू आवश्यक सामग्री बुझेर तोकिएको मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन् ।

मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिम पश्चात् निर्वाचन आयोगको कार्यतालिका अनुसार कर्मचारीहरू केन्द्रमा खटिएका हुन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावली लगायतका ५१ प्रकार सामग्री बुझेका छन् ।

धनकुटामा ११९ मतदान स्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र सामग्री पु¥याइएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । मतदान केन्द्रमा पुगेर सोमबार नै अनुसूची ३, ४, ६ र ७ टाँस गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, अनुसूची ४ मा मौन अवधिमा प्रचारप्रसार निषेध, अनुसूची ६ मा मादक पदार्थ प्रयोग तथा सेवन निषेध र अनुसूची ७ मा हातहतियार निषेधसम्बन्धी सूचना उल्लेख गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता छन् । सात वटा स्थानीय तह रहेको धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र छ । धनकुटामा १४ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरी कुल १७ जना चुनावी मैदानमा रहेका छन् ।

प्रत्येक केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ६ जना कर्मचारी खटाइएको छ । जिल्लाका १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी कुल १ हजार २ जना कर्मचारी परिचालन गरिएको छ । निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ९८९ जना निर्वाचन प्रहरी पनि सोमबारदेखि नै खटिएका छन् ।

गएरातीदेखि प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले आफ्नो प्रचारप्रसार गर्ने समयावधि सकिएको छ । सोमबार मध्यरातसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने छन् ।

निर्वाचनको मतदान अगाडीको ४८ घण्टा मौन अवधि सुरु हुँदैछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।