पूर्वप्रधानमन्त्री ओलीको रिहाईको माग गर्दै धनकुटामा प्रदर्शन, प्रजिअमार्फत प्रधानमन्त्रीलार्ई बुझाइयो ज्ञापन 

धनकुटा FM
१५ चैत २०८२, आइतबार

धनकुटा । नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै धनकुटामा नेकपा एमालेले प्रदर्शन गरेको छ ।

शनिबार बिहान अध्यक्ष ओलीलाई पक्राउ गरिएको घटनालाई नेकपा एमालेले नियोजित र पूर्वाग्रही ठहर गधनकुटामा पनि प्रदर्शनसहित प्रमुखजिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

आज प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेर एमालेले धनकुटाका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्कामार्फत् प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा सरकारले राजनीतिक प्रतिशोधका आधारमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाइएको छ ।

एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा पक्राउ परेका सबै नेताहरूलाई तत्काल र बिना सर्त रिहा गर्न जोडदार माग गरिएको छ । ज्ञापनपत्रमा कार्की आयोगको प्रतिवेदन अपूरो र अत्यन्तै पूर्वाग्रही रहेकाले त्यसलाई तत्काल खारेज गर्नुपर्ने उल्लेख छ ।

विगतका विभिन्न विनाशकारी घटनाहरू र आपराधिक क्रियाकलापमा संलग्नहरूको निष्पक्ष छानबिन गरी वास्तविक प्रतिवेदन तयार पार्न एक अधिकारसम्पन्न, स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने माग समेत एमालेले राखेको छ ।

ज्ञापन पत्र बुझाउनुअघि धनकुटाको मदनचोकबाट र्यालीसहित प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जुलुस निकालिएको थियो । एमालेका नेता तथा कार्यकर्ताहरुले केहि बेर प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए । सो प्रदर्शनमा अध्यक्ष आङलासहित नेकपा एमालेका केन्द्रिय सदस्य तारा तितुङ,  कोशी प्रदेशसभाका सदस्य निरन राई लगायत विभिन्न पालिकाबाट पार्टीका नेता तथा कार्यकताहरु सहभागी बनेका थिए ।