सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका इन्जिनियरसहित ३ जना घुससहित पक्राउ
सेवाग्राहीसँग विभिन्न बहाना बनाएर दुःख हैरानी दिँदै घुस माग गरेको उजुरी परेपछि ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ
धनकुटा । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटामा निक्कै सक्रियता जनाउन थालेको छ । आज मात्रै सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन उनीहरूले सेवाग्राहीसँग विभिन्न बहाना बनाएर दुःख हैरानी दिँदै घुस माग गरेको उजुरी परेपछि अख्तियारले इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
उक्त उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा राईलाई ललितपुरबाट पक्राउ गरेको हो । त्यसैगरी, इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य सम्बन्धित कागजात बरामद गरिएको अधिकारीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस