सिन्धुली प्रहरीमा दलित युवाको हत्याविरुद्ध धनकुटामा विरोध प्रदर्शन
धनकुटा । सिन्धुलीमा प्रहरी हिरासतमै मृत्यु भएका दलित युवाको न्यायिक छानबिन, दोषीमाथि कारबाही र अधिकार सुनिश्चितताको माग गर्दै आएका धनकुटाका दलित संघ संस्था राजनीतिक संघ संगठनहरुले धनकुटामा विरोध सभा गरेका छन् ।
सिन्धुलीका श्रीकृष्ण विश्वकर्मा मारिएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै संयुक्त दलित सङ्घर्ष समिति धनकुटाले सदरमुकामस्थित मदन चोकमा कोणसभा गर्दै प्रदर्शन गरेको हो ।
सो कोणसभा तथा प्रदर्शनमा दलित मुक्ति संगठनका केन्द्रीय उपमहासचिव गोपाल बराइलीले प्रहरी हिरासतजस्तो संवेदनशील स्थानमै नागरिकको ज्यान जानु गम्भीर विषय भएको बताउँदै घटनाको सत्यतथ्य अवस्था सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।
त्यसैगरी नेपाल दलित सङ्घकी केन्द्रीय सदस्य अम्बिका परियार, मुक्ति समाज नेपालका धनकुटा अध्यक्ष मानबहादुर विश्वकर्मा तथा दलित अधिकारकर्मी रवीन्द्र नेपाली लगायतले दलित समुदायमाथि भइरहेका विभेद, हिंसा र दमनका घटनामा राज्य संवेदनशील नभएको आरोप लगाए। वक्ताहरूले दलित समुदायको सुरक्षाको ग्यारेन्टी गर्न, दोषी प्रहरीमाथि कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे । साथै उनहिरुले कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पछिल्लो समय प्रहरी हिरासतभित्रै मृत्यु हुने घटना बढ्दै गएको भन्दै यसले कानुनको शासनमाथि प्रश्न उठेको बताए ।
संयुक्त दलित सङ्घर्ष समिति धनकुटाको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न दलित अधिकारकर्मी, राजनीतिक दलसम्बद्ध भ्रातृ संगठनका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । सो कोणसभाको सञ्चालन मुक्ति समाज धनकुटाकी सचिव लक्ष्मी परियारले गर्नुभएको थियो ।
यसअघि बिहीबार दलित संघ–संस्थाहरूले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको न्यायिक छानबिन गर्न, दोषीमाथि कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस