१३ औं संस्करणको रारा रनिङ गोल्डकप : आयोजक रारा र बिर्तामोडबीच उपाधी भिडन्त हुने

धनकुटा FM
२१ वैशाख २०८३, सोमबार

धनकुटा । धनकुटाको राजारानीमा जारी १३ औं संस्करणको रारा रनिङ गोल्डकपमा आयोजक रारा फुटबल क्लब र बिर्तामोड युनाइटेड फुटबल क्लबबीच उपाधी भिडन्त हुने भएको छ ।

बिर्तामोड युनाइटेड फुटबल क्लब, झापा धनकुटामा जारी १३औं रारा रनिङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै आयोजक रारा फुटबल क्लब र बिर्तामोड युनाइटेडबीच उपाधी भिडन्त हुने भएको हो ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा बिर्तामोडले सलहेश युवा क्लब, सिराहालाई ३–१ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । बिर्तामोडको जितमा राजेश दाहालले ह्याट्रिक गर्दा सलहेशका लागि रिचार्डले एक मात्र गोल फर्काउनु भयो । खेलमा प्लेयर अफ द म्याच भने बिर्तामोड युनाइटेडका संजय लिम्बु घोषित हुनुभयो ।

धनकुटामा सबैभन्दा धेरै राशी पुरस्कार भएको सो प्रतियोगिता रारा फुटबल क्लब राजारानीको आयोजनामा भइरहेको छ । जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने आयोजक रारा क्लवमा सचिव युवराज कटवालले जानकारी दिनुभयो ।