तेलियामा वित्तीय साक्षरतासँगै च्याउ खेती तालिम, सहभागीलाई बीउसमेत वितरण गरिने

धनकुटा FM
२७ वैशाख २०८३, आइतबार

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ४ तेलियामा वित्तीय साक्षरता र उद्यमशीलता विकासलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिका र नविल बैकको सहकार्यमा आयोजना गरिएको कार्यक्रममार्फत स्थानीय किसान, युवा तथा स्वरोजगार बन्न चाहने व्यक्तिहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको हो । कार्यक्रममा सहभागीलाई बचत गर्ने तरिका, बैंकिङ सेवा उपयोग, लगानी व्यवस्थापन, वित्तीय योजना निर्माणलगायतका विषयमा जानकारी दिइएको थियो । यससँगै उद्यम सञ्चालनका आधारभूत पक्षबारे पनि प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले स्थानीय तहले कृषि र साना उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । आधुनिक कृषि प्रणाली अपनाउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने र च्याउ खेती गाउँका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने उहाँको भनाइ थियो ।

स्थानीय स्तरमा सीप र वित्तीय ज्ञान जोडेर स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। नविल बैंक सिधुवा शाखाका प्रमुख निरञ्जन निरौलाले तालिमलाई व्यवहारिक र आयमुखी बनाइएको बताउनुभयो ।

सहभागीलाई आधुनिक प्रविधिमार्फत च्याउ खेती गर्ने विधि, उत्पादन व्यवस्थापन तथा बजारसम्म पहुँच विस्तार गर्ने उपायबारे सिकाइने उनको भनाई छ । तालिमपछि च्याउ खेती सुरु गर्न आवश्यक बीउ र अन्य सामग्रीसमेत उपलब्ध गराइने निरौलाले जानकारी दिनुभयो ।