संघर्षमा सफलता : ६६ वर्षमा एसईई उत्तीर्ण, १२ कक्षा पार गरेर मात्रै छोड्ने करवीर राई लक्ष्य
धनकुटा । ‘पढ्न उमेरले छेक्दैन’ यो नेपाली उखान सबैका लागि लागू हुनुपर्छ । तर आम मानिसले उमेरका कारण देखाउँदै पढ्नै अल्छी गर्छन् । र, पढाई त्यतिकै थाँती रहन्छ । यो धेरैले भोग्दै आएको कुरा पनि हो ।
उमेरले मानिसलाई शारीरिक रुपमा वृद्ध बनाउन सक्छ । तर सिक्ने इच्छा र आत्मविश्वास बलियो भए उमेर कहिल्यै बाधक बन्दैन भन्ने उदाहरण धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ मुगाका ६६ वर्षीय करवीर राई बन्नुभएको छ । जसले ६६ वर्षको उमेर माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्नुभएको छ । उहाँले ३ पटकको प्रयासमा एसईई उत्तीर्ण गरेपछि चर्चाको विषय बनेको छ ।
उहाँले अहिले ‘सी’ ग्रेडमा एसईई उत्तीर्ण गर्नुभएको छ । उहाँले उमेर ढल्किए पनि पटकपटकको प्रयासपछि एसईई उर्तीर्ण गर्न सफल हुनुभएको हो । उहाँले व्यवस्थापन विषय लिएर ११ कक्षाा भर्ना गर्ने योजना बनाउनु भएको छ । ‘अब म पनि कमर्श लिएर ११–१२ पढ्छु’ उहाँले भन्नुभयो, ‘मेरो परिवार पनि व्यावसायिक पृष्ठभूमिको छ ।
विं.सं. २०१७ सालमा तत्कालीन मुगा गाउँपञ्चायत वडा नं. १ गैरीटोलमा जन्मिनुभएका राईले २०२७ सालमा स्थानीय राम मिडल स्कुलबाट कक्षा ७ उत्तीर्ण गर्नुभएको थियो । २०४० सालमा उनले चुङमाङ गाविसस्थित भारती माध्यमिक विद्यालयबाट प्राइभेट टेस्ट परीक्षा पास गरे पनि उहाँले एसएलसी भने उत्तीर्ण गर्न सक्नुभएको थिएन । अहिले उहाँले खुला सिकाइ प्रणालीबाट एसईई पास गर्दै आफ्नो अधुरो शैक्षिक यात्रालाई पूरा गर्नुभएको छ ।
पढाईलाई बिश्राम लिए पनि २०८० सालमा अचानक उहाँलाई फेरि पढ्ने हुटहुटी जाग्यो । त्यसपछि २०८० सालमा उहाँ खुला सिकाइ प्रणालीमा भर्ना हुनुभयो । सुनसरीको धरानस्थित सगरमाथा डल्फिन कलेजबाट आवेदन दिएर सप्तरीको राजविराजमा परीक्षा दिनुभयो । पहिलो प्रयासमा उहाँले पाँच विषय पास गर्नुभयो । २०८१ सालमा गणित र अर्थशास्त्र विषयको ग्रेडवृद्धि परीक्षा दिनुभयो । उहाँ असफल हुनुभयो ।
एसईई उत्तीर्ण गरेपछि उहाँले धनकुटामै बसेर कक्षा ११ मा भर्ना हुने सोच बनाउनुभएको छ । तर अहिलेसम्म कुन विद्यालयमा पढ्ने भनेर निश्चित नभई सकेको उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस