धनकुटाका धनबहादुर आठपहरियाको उपन्यास ‘सुजुना’ सार्वजनिक

धनकुटा FM
३० वैशाख २०८३, बुधबार

काठमाडौं । धनकुटामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनुभएका धनबहादुर आठपहरियाले उपन्यास ‘सुजुना’ सार्वजनिक गर्नुभएको छ ।

उपन्यास ‘सुजुना’ पुस्तकको बरिष्ठ साहित्यकार तथा कवि तुलसी दिवस र राष्ट्रगानका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माईला) ले लोकार्पण गर्नुभएको छ ।

उपन्यासकार आठपहरियाले आफ्नो उपन्यास ‘सुजुना’ मा सुजुनालाई मुख्य विषय वस्तु बनाउनु भएको छ । सो उपन्यासमा उपन्यासकार आठपहरियाले धनकुटामा मात्रै बसोवास रहेको आठपहरिया जातिका विषयलाई समेटेर आठपहरिया जातिको धर्म, संस्कार, परम्परा, मूल्य र मान्यतालाई मुख्य विषय बनाउनु भएको छ ।

अझ त्यसमा पनि खाउखाउ लाउ लाउ उमेरमा परिवारको सदस्य गुमाउनु पर्दा पर्ने पीडालाई स्मृतिमा उपन्यासको सिर्जना गरिएको छ । उपन्यास ‘सुजुना’ को आवरण धनकुटाका चर्चित साहित्यकार मुकुन्द प्रयासले बनाउनु भएको छ ।

मंगलबार काठमाडौंमा गरिएको सो उपन्यास ‘सुजुना’ को लोकार्पण कार्यक्रममा बरिष्ठ साहित्यकार दिवस, प्रदिपकुमार राई लगायतले यथार्थपरक विधा उपन्यासले परिवारमा कोहि सानै उमेरमा निधन हुदाँ कस्तो पीडा हुन्छ भन्ने देखाएको बताउनुभयो ।