धनकुटाका १० वटा वडालाई १० लाखको बजेट सिलिङ, दायीत्वको बोझ थपिँदै

सधैं दायीत्व बोक्नुभन्दा कम सिलिङ तोक्नु उत्तम हो : नगर प्रमुख तामाङ

गोपाल बराइली
१२ जेठ २०८३, मंगलबार

धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि वडाहरुलाई १० लाख रुपैयाँको सिलिङ तोकेको छ ।

धनकुटा नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, शुसासन तथा अन्तरसम्बिन्धत क्षेर र वन तथा वातावरण क्षेत्रमा खर्च गर्न पाउनेगरी आर्थिक वर्ष २०८३/०८४ का लागि वडाहरुलाई १० लाख रुपैयाँको सिलिङ तोकेको हो ।

नगरपालिकाले २०८३ बैशाख ३१ गते धनकुटा नगरपालिकाका १० वटै वडालाई पठाएको बजेट सिलिङ र मार्गदर्शनमा आर्थिक वर्ष २०८३/०८४ का लागि वडाहरुले १० लाख रुपैयाँसम्मको सिलिङमा बाँधिएर योजना बनाउनुपर्ने भएको छ ।

यसअघिका वर्षहरुमा धनकुटाका वडाहरुले ५५ लाख रुपैयाँको सिलिङको आधारमा वार्षिक बजेट पेश गर्ने गरेका थिए । तर यो वर्ष भने नगरपालिकाले ‘संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय हस्तान्तरणको बजेट सिलिङ र मार्गनिर्देश तथा विगत वर्षहरुमा भएको स्रोत परिचालनको अवस्थालाई मध्यनजर गरी वडास्तरमा सहभागीतात्मक योजना तर्जुमा प्रक्रिया अवलम्बन गर्दै आ.व. २०८३/०८४ का लागि योजना छनोट गर्न धनकुटा नगरपालिकाबाट वडालाई निम्नानुसार वडा स्तरीय बजेट सिलिङ साथै मार्गनिर्देश तयार गरी पठाइएको छ’ भनिएको छ ।

नगरपालिकाले ‘उक्त मार्गनिर्देश र बजेट सिलिङको सीमाभित्र रही आ–आफ्नो वडाको कार्यक्रम तथा बजेट तयार गरी संलग्न समय सीमाभित्र’ पेश गर्न भनिएको छ ।धनकुटाका वडाहरुले आफ्नो वडाको क्षेत्र हेरेर बजेट पाउँदै आएका थिए । तर यो वर्ष १० लाख रुपैयाँको सिलिङ तोकिएका कारण जनताको काम गर्नै नसकिने अवस्था आएको धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गीको भनाई छ ।

‘त्यत्रो क्षेत्र तोकिएको छ । जनताका अपेक्षा धेरै छन् । यति बजेटले त जनताको काम गर्न सक्ने अवस्था नै भएन’, वडाध्यक्ष खड्गीले भन्नुभयो, ‘खै अब त काम पनि गर्न सकिन्छ जस्तो छैन ।’

धनकुटा नगरपालिका वडा नं. ४ ले गत वर्ष ४० लाख बजेट पाएको थियो । तर यो वर्ष १० लाख रुपैयाँमा खुम्चिनु पर्दा समस्या आएको छ । त्यसरी नै अन्य वडाहरुले पनि वडाको जनघनत्व, क्षेत्रफल र भौगोलिक अवस्था हेरेर बजेट पाउँदै आएका छन् ।

धनकुटा नगपालिकाले वडाहरुलाई १० लाख रुपैयाँको सिलिङमा वडाको बजेट पेश गर्न परिपत्र जारी गरेसँगै वडाको विकास खुम्चिने देखिएको छ । प्रत्येक वर्ष ५५ लाख भन्दा बढीको बजेट सञ्चालन गर्दै आएका वडाहरुले अब सीमित बजेटबाट वडा सञ्चालन गर्नुपर्ने बाध्यता आएको छ ।

नगरपालिकाले तोकेको सिलिङ पनि वार्षिक योजना तथा कार्यक्रम गाउँ, टोल हुँदै वडा सभाबाट पारित गरेर कार्यपालिकामा पेश गर्नुपर्ने प्रावधान रहेको छ । त्यसमा पनि नगरपालिकाले तयार पारेको आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, शुसासन तथा अन्तरसम्बिन्धत क्षेर र वन तथा वातावरण क्षेत्रमा खर्च गर्न पाउने छन् ।

नगरपालिकाले वडाहरुलाई १० लाख रुपैयाँको सिलिङ तोके पनि सञ्चालन तथा विविध खर्च भनेर ४ लाख ६८ हजार उपलब्ध गराउने छ । जुन रकम कर्मचारी खर्चमा प्रयोग हुनेछ । आर्थिक वर्ष २०८३/०८४ का लागि वडाहरुले प्रत्येक वडाहरुमा भौतिक पूर्वाधारका कार्यक्रम पनि ल्याउनुपर्नेछ ।

त्यसैगरी लक्षित तथा अन्य सामाजिक विकासअन्तर्गतका कार्यक्रमको हकमा ५० हजार भन्दा कम नहुनेगरी कार्यक्रम छनोट गर्नुपर्ने छ भने सडक सम्बन्धी योजनाहरु भएमा नयाँ ट्रयाक कार्यलाई भन्दा पनि सडक स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकता दिन भनिएको छ ।

पालिकाहरुले संघ र प्रदेशले दिने बजेटलाई मुख्य आधार मानेर बजेट बनाउने गरेका छन् । त्यसमा आन्तरिक आयलाई पनि आधार मान्ने गरेका छन् । तर धनकुटा नगरपालिकाको हकमा आन्तरिक आय ज्यादै न्युन छ । त्यसले पनि कम आकारको बजेट आउने गरेको छ ।

धनकुटा नगरपालिकाले आर्थिक वर्ष ०८२÷८३ का लागि एक अर्ब १२ करोड २५ लाख २२ हजार ७३० बराबरको बजेट प्रस्तुत गरेको थियो । तर संघ र प्रदेशले बजेट घटाएपछि धेरैजसो योजनाहरुको रकम निकास ‘दायीत्व’ मा सर्ने गरेको छ । सोही कारण पनि यो वर्ष बजेटको सिलिङ घटाउनु परेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको भनाई छ ।

धनकुटा नगरपालिकाले प्रत्येक वर्ष योजना सम्पन्न भएका योजनाको रकमलाई दायीत्वमा राख्दै आएको छ । ‘केन्द्रबाट रकम काटेको काट्यै छ । यहाँ बजेट बनायो, आखिर काम हुने रहेनछ’ नगर प्रमुख तामाङले भन्नुभयो, ‘अघिल्ला वर्षहरुदेखि नै दायीत्वमा सर्दै आएकाले जनताले दुःख पाउनु भन्दा कम सिलिङ तोकिएको छ । त्यो पनि आउँछ की आउँदैन भन्ने छ ।’