विश्व वातावरण दिवसमा धनकुटाका विभिन्न स्थानहरुमा वृक्षारोपण

धनकुटा FM
२२ जेठ २०८३, शुक्रवार

धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुटाका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अधिकांस स्थानहरुमा वृक्षारोपण गरिएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय धनकुटाले छथरजोरपाटी गाउँपालिकाको समन्वय तथा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ धनकुटाको सहकार्यमा वातवरण सम्वन्धी सचेतना तथा वृक्षारोपण सम्पन्न भएको छ ।

‘समृद्ध भविष्यको आधारस् जलवायु एवं प्रकृतिमैत्रि विकास‘ भन्ने मुल नाराका साथ आयोजना गरिएको वातवरण सम्वन्धी सचेतना तथा वृक्षारोपण कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले गर्नुभयो ।

सो अवसरमा छथरजोरपाटी गाउँपालिका वडा नं. २ ध्वजेडाँडामा चाँप र गुराँस प्रजातीका विरुवा वृक्षारोपण गरिएको थियो । कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, डिभिजन प्रमुख सन्जिवराज ढकाल, सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा लगायतले पनि वृक्षारोपण गर्नुभएको थियो ।

उता, विश्व वातावरण दिवसको अवसर पारेर धनकुटा लेडी जेसीजले धनकुटा नगरपालिकावडा नं. ६ स्थित वडा कार्यालय परिसरमा वृक्षारोपण गरेको छ ।

जेसीजको समुहले वडा कार्यालय परिसरमा कटहर, अम्बा, अमला लगायतका फलफूलका बिरुवासँगै गुलाब, कल्की लगायत विभिन्न प्रजातिका फूलका बिरुवाहरू रोपिएका थिए । वातावरण संरक्षणसँगै हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा स्थानीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मिलनकुमार खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनकुटा लेडी जेसीजकी अध्यक्ष जेसी टिका राईको अध्यक्षता रहेको थियो । कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी शकुन्तला सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष जेसी प्रमिशा श्रेष्ठ, पूर्व अध्यक्षहरू जेसी बिपना श्रेष्ठ र जेसी विशिका श्रेष्ठ जेसी मुना पोखरेल, जनाश्रय टोल विकास संस्था धनकुटा कचिडे महिला समूह तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।