१३औँ छिन्ताङ सहिद कपको उपाधी सिर्जनशिल युवा क्लबलाई
धनकुटा । १३औँ छिन्ताङ सहिद कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी सिर्जनशिल युवा क्लबले हात पारेको छ ।
धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङस्थित सफाइटारको लामेचौर खेलमैदानमा भएको १३औँ छिन्ताङ सहिद कप खुला पुरुष फुटबल प्रतियोगितामा सिर्जनशिल युवा क्लबले सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
जेठ २८ गतेदेखि ३१ गतेसम्म मितेरी युवा क्लबको आयोजनामा भएको सो प्रतियोगितामा विजेता बनेको सिर्जनशिल युवा क्लबले नगद एक लाख ११ हजार एक सय ११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सरस्वती युवा क्लबले नगद ५५ हजार पाँच सय ५५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टीमलाई सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले पुरस्कारहरु वितरण गर्नुभयो ।
सो प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिएको छ । सो प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस