धनकुटाको लहरे चौतारीमा सेडिमेन्टेशन ट्याङ्कीको निर्माण कार्य तीव्र, ढलान कार्य सम्पन्न

धनकुटा FM
२१ असार २०८३, आइतबार

धनकुटा । धनकुटा नगरवासीलाई स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्यसहित धनकुटा नगरपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सेडिमेन्टेशन ट्याङ्कीको निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

संघीय खानेपानी तथा ढल निकास आयोजनाको आर्थिक सहयोग उक्त ट्याङ्कीको निर्माण भईरहेको हो । सेडिमेन्टेशन ट्याङ्की पानी शुद्धीकरण प्रक्रियाको महत्वपूर्ण संरचना हो । यसमा पानीमा मिसिएका माटो, लेदो तथा अन्य ठोस कणहरूलाई तल बसालेर थप सफा बनाइने भएकाले उपभोक्तासम्म पुग्ने खानेपानी अझ सुरक्षित र गुणस्तरीय हुने समितिको विश्वास छ ।

धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराका अनुसार निर्माणाधीन सेडिमेन्टेशन ट्याङ्की सञ्चालनमा आएपछि उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्नेछ । उहाँले यसले पानी शुद्धीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षामा समेत सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो ।

आयोजनाको निर्माणका लागि २०८२ साल भदौ १ गते सम्झौता भएको थियो । निर्माण कार्य निर्धारित योजना अनुसार अघि बढिरहेको समितिले जनाएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २० प्रतिशत अर्थात् १२ लाख २६ हजार रुपैयाँ लगानी रहेको छ भने संघीय खानेपानी तथा ढल निकास आयोजनाको ८० प्रतिशत अर्थात् ४९ लाख ७ हजार रुपैयाँ आर्थिक सहयोग रहेको समितिले जनाएको छ ।

यसका अतिरिक्त आयोजनालाई थप प्रभावकारी बनाउन कार्यालयको तर्फबाट १५ लाख ७१ हजार रुपैयाँ बराबरको फिटिङ सामग्री उपलब्ध गराइएको छ। साथै, पानी आपूर्तिलाई सहज र भरपर्दो बनाउन ६० एचपी क्षमताका दुई वटा पम्प समेत सहयोगस्वरूप उपलब्ध भएको सचिव छाराले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि नगरवासीले अझ स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। खानेपानी पूर्वाधार विस्तार र शुद्धीकरण प्रणालीको सुदृढीकरणले नगर क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण, सेवा गुणस्तर अभिवृद्धि तथा दिगो खानेपानी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उपभोक्ता समितिको छ ।