रोशन परियारका कविता : घाम र प्रेम
कविता : ‘घाम र प्रेम’
रगतका आँसु झारेर
म फर्किएको पहिलो बिहान
तिमीलाई मेरै अगाडि पाउनु
अहोभाग्य हो मेरो
नसोध छातीको भित्तामा टाँसिएको
तिम्रो ताजा तस्विर कति चोटि बोल्यो मसँग
र कति चोटि बोलाएँ मैले ।
तिमी गएदेखि
औँलाका नङहरु बढेर लामा लामा भएका रहेछन् मेरा
जो पहिले तिम्रा हातका औँलाहरूमा देखेको थिएँ
आँसुको लेउ जमेर आँखामा कालो ध्वाँसो बसेको रहेछ
जो पहिले तिम्रा आँखामा गाजल देखेको थिएँ
ओठबाट किन रङ उडेर फुस्रो भएको हो मेरो ?
जो पहिले तिम्रा ओठमा लत्पतिएर रङ्गीन हुन्थे ।
तिम्राअगाडि
कपडा लगाएर पनि लजाउने भएको रहेछु म अहिले
मेराअगाडि
कपडा नलगाई पनि लजाउँदिनथ्यौ तिमी पहिले
मेरो चेत भरिएको मथिङ्गलमा बेचैनी दिएर
मनमा होस बोकेको मलाई बेहोसी बनाउने
चमकदार जादु रहेछ तिमीमा
अद्भूत कला रहेछ तिमीभित्र
हो प्रिया
बौलाहा बनाएर सज्जन भन्यौ तिमीले
सज्जन बनाएर फेरि बौलाहा भन्यौ तिमीले
मलाई यसरी पनि बाँच्न सिकायौ ।
ओठमा मुस्कानको एटम बम बोकेर आएकी रहिछ्यौ
त्यही मुस्कान पड्किएको पहिलो हाम्रो भेटमा
खाल्डो परेको मैले टेकेको जमिन
आजसम्म पुरिन सकेको छैन
तिम्रै आँखामा ठोक्किएर लडेको मेरो आँखा
घाइते बनेर आजसम्म उठ्न सकेको छैन
तिम्रै हातका लहराले जेलिएको मेरो शरीरमा
आँख्लैपिच्छे न्यानोपनका गुलाफ फक्रिएका छन्
तिम्रा प्रत्येक अङ्गले अघाउन्जेल चुमेका
मेरा प्रत्येक अङ्ग आधा भएका छन्
अधुरा भएका छन् अचेल ।
चिसो घाम तापेर मैले अँध्यारो दिन भोगेँ
जलेको रात च्यातेर तिमीलाई सिङ्गो बनाएँ
कलिलो घामले छोएर जान्थ्यो
वयस्क घामले पोलेर
बुढो घामले धोएर जान्थ्यो
घामले छुँदा पनि सम्झिएँ, नछुँदा पनि सम्झिएँ
तिमी हुँदा पनि सम्झिएँ, नहुँदा पनि सम्झिएँ
सँधै एकनासले देखिने तिम्रो प्रेमिल घाम
मबाट कहिल्यै ओझेल परेको छैन ।
तिम्रो हाँसेको तस्विरले दिएको उज्यालो
काफी छ अहिले पनि म बसेको कालो कोठालाई
मेरो एक्लो जिन्दगीलाई
मैले बुझेको छु
घाम र प्रेम कहिले अँध्यारो हुँदैन प्रिया ।


प्रतिक्रिया दिनुहोस