इश्वरा शिवाको कविता : दर्ता नम्बर ३ करोड

इश्वरा शिवा
३० साउन २०८३, शनिबार
आमाले कोखबाट झिकेर
अनुहार हेरिन् र भनिन – नानी !
सरकारी हाकिमले ढड्डा उघारेर
मेरो नाम फेर्दै भन्यो – नम्बर !
यो देशमा जन्मनु भनेको
आमाको काखमा टाँसिनु अघि,
एउटा अनन्त लाइनको
पुछारमा उभिनु हो ।
मल र किताबका लाइनमा बित्छ,
बाको हलोभन्दा भारी ऋणको मुठो
आमाका आँसुभन्दा ठूलो
रित्तो चुलो हेर्दै बित्छ,
मेरो बाल्यकाल ।।
अस्पतालमा डाक्टरभन्दा अघि टोकन भेटिन्छ,
चुलो निभेर दगुर्दा
ग्यासभन्दा अघि कुपन भेटिन्छ ।
पाँच वर्ष नपुग्दै…
औँलामा नीलो मसी घसेर
म ‘नागरिक’ भएको भ्रम किन्छु !
मतपेटिकासम्म मेरो औँला त पुग्छ,
भविष्य भने कहिल्यै पुग्दैन ।
अनि सपना फुल्ने उमेरमा
राहदानी लिने भिँडमा उभिन्छु,
त्यसपछि तन्किँदै जान्छ ..
म्यानपावर, श्रम र भिसा हुँदै
विमानस्थलसम्मको लाइन !
मैले देश छाड्न पनि
लाइनमै उभिनुपर्छ ।
नाम मेरै छ, देश पनि मेरै छ,
मेरो बैंस र पसिना
अर्कैको भूमिमा लिलाम भइरहेछन् ।
वर्षहरू ढल्छन्,
म बैंकको सिँढीमा
भत्ता कुरेर बूढो हुन्छु ।
अन्ततः एक दिन सास चुपचाप रोकिन्छ।
सोच्छु, अब त यो लाइन सकियो होला !
अफसोस, घाटमा पनि चिताहरू
आफ्नो पालो कुरेर धुवाँइरहेका हुन्छन् ।
खरानी हावामा मिसिनुअघि
कर्मचारीको कलम फेरि चल्छ – मृत्यु दर्ता !’
यो देश भनेको नक्सा हो ?
कि …
ढड्डामा थुनिएका
तीन करोड मान्छेको अनन्त लाइन ?
म जन्मिँदा नाम लेखिन्छ,
बाँच्दा नम्बर बोलाइन्छ,
देश छाड्दा पालो तोकिन्छ,
मर्दा नम्बर काटिन्छ ।
र, मेरो मान्छे हुनुको अस्तित्व ?
त्यो त अझै पनि
सरकारी ढड्डाको धुलोमुनि
आफ्नो पालो कुरिरहेछ !