धनकुटामा छायांकन भएको चलचित्र ‘परान’ शुक्रबारदेखि धनकुटामा चल्ने (ट्रेलरसहित)

धनकुटा FM
१२ कार्तिक २०८२, बुधबार

धनकुटा । आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनलागेको नेपाली चलचित्र ‘परान’ धनकुटामा प्रदर्शन हुने भएको छ ।

धनकुटाको छथरजोरपाटी, पाख्रिबास, धनकुटा लगायतका स्थानमा छायांकन भएको चलचित्र ‘परान’ धनकुटाको एक मात्र सिनेमा हल धनकुटा सिनेमा घरमा कात्तिक १४ गते शुक्रबारदेखि प्रदर्शनमा आउने भएको हो ।

चलचित्र ‘परान’ मा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । नेपाली चलचित्रका ‘भीष्मपितामह’ को रूपमा परिचित वरिष्ठ अभिनेता नीर शाहले यस फिल्ममा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । लामो समयपछि शाहले मुख्य पात्रको रूपमा काम गरेकाले पनि ‘परान’ प्रति दर्शक तथा फिल्मवृत्तमा विशेष चासो र प्रतीक्षा बढेको छ ।

खासगरी चलचित्र ‘परान’ को मूल कथावस्तु नेपाली समाजको पारिवारिक सम्बन्धमा केन्द्रित रहेको छ । विशेष गरी, जीवनको उत्तरार्धमा आफ्ना सन्तानको निकटता र स्नेहको खोजी गरिरहेका एक बुबाको भावनात्मक पीडा तथा संवेदनालाई ‘परान’मा चित्रण गरिएको छ ।

खासगरी बुढ्यौलीमा आमाबुबाले खोज्ने सन्तानको आडभरोसा र सन्तानले आफ्नो व्यक्तिगत आकांक्षा र रोजाइलाई प्राथमिकता दिँदा परिवारमा उत्पन्न हुने मर्मस्पर्शी परिस्थितिलाई चलचित्रको कथानक बनाइएको छ ।

‘परान’ मार्फत दीपकप्रसाद आचार्य (काकु) ले निर्देशनमा डेब्यु गर्नुभएको छ । काकु धनकुटाको छथरजोरपाटी निवासी हुनुहुन्छ । आचार्यकै कथामा बनेको यस फिल्मको पटकथा र संवाद लेखन भने यम थापाले गर्नुभएको छ । गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानी तथा साझेदारीमा स्थापित ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो ।

चलचित्र ‘परान’मा नीर शाहका साथै महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतका कलाकारको सशक्त अभिनय रहेको छ ।