पहिलो पटक शाली नदीमा राष्ट्रपति
काठमाडौं,६ फागुन। राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङखरापुर नगरपालिकास्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथा अन्र्तगतको माधवनारायण मेलामा सहभागी भएर पहिलो इतिहास बनाउनुभएको छ । आइतबार बिहान शाली नदीमा पुग्न्ुभएका राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम पूजा अर्चना र शालीनदीमा जल अभिषेक गर्नुभयो । शालीनदीमा विशिष्ट व्यक्ति मध्य पहिलो पटक राष्ट्रपति पौडेल पहिलो पटक पुग्नुभएको नेपाली कांग्रेसकी सांसद एवं काठमाडौं क्षेत्र नम्बर २ की नेता प्रतिमा गौतमले जानकारी दिनुभयो ।
साथै राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम पूजा अर्चना गर्नुभयो । बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङखरापुर नगर प्रमुख रमेश नापित, वडा नम्बर ८ का अध्यक्ष पोते थिङ र ४ का वडाअध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेको गौतमले बताउनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउँदा मनमा आनद्य र खुसी छाएको बताउनुभयो । उहाँले भृकुटी र स्रङचङ गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम ऐतिहाकिस महत्वको शाली नदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सांसद र नगरप्रमुख एवम उपप्रमुख लगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभएको थियो । उहाँहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुननिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेल शालीनदी पुग्नुहुँदा उहाँलाई सांसदद्धय प्रतिमा गौतम, सोविता गौतम, नवनिर्वाचित राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, नगर प्रमुख, उपप्रमुख, माधवनारायण मेलाका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरे । सांसदहरुले शालीनदीमा राष्ट्रप्रमुख पहिलोपटक आएकोमा स्थानीयवासिन्दा अत्यन्त हर्षित भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस