तीन प्रदेश प्रमुखलाई विदाई सँगै नयाँ तीन प्रमुखलाई स्वागत
काठमाडौं,३० फाचगुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ भने उनिहरुका ठाउँमा अरु तीन जनालाई नियुक्त गगर्नुभएको छ । मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई बुधबार पदमुक्त गरिएको हो । सोहीक्रममा मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सरकारको सिफारिसमा प्रदेशप्रमुखहरुको पदमुक्त र नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०÷११÷२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्न र उनीहरूका स्थानमा अरू व्यक्तिको नाम सिफारिस गरेको थियो । त्यस्तै पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार बुधबार नै उनिहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस