धनकुटामा शुरु भयो औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव, कोशी प्रदेशका मन्त्री हाङगामद्धारा उद्घाटन
धनकुटा । कोशीको गौरव हिमालको शान पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने नाराका साथ औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव शुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा धनकुटाको तल्लो टुढिखेलमा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव शुरु भएको छ ।
औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवको कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिह हाङगामले उद्घाटन गर्नुभयो । सो महोत्सवको उद्घाटन गर्दै मन्त्री हाङगामले कोदोको रक्सीलाई ब्रान्डिङ गर्नुपर्ने बताउनु भयो ।
मन्त्री हाङगामले कोशी प्रदेशमा आन्तरिक राजश्व बढाउन सके मात्रै कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनु भयो । त्यसमा लागि प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारको विषेश पहल गर्नुपर्ने बताउनु भयो । यो वर्षदेखि कृषी अनुदानको कटौती गरिएको जानकारी दिँदै मन्त्री हाङगामले वास्तविक किसानले अनुदान पाउन नसकेको बताउनु भयो ।
घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको सभापतित्वमा भएको सो महोत्सवको उद्घाटन कार्यक्रममा पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, नेकपा माओवादी केन्द्रका धनकुटा सचिव ओम प्रकाश निरौला, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, राष्ट्रिय अभिभावक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ लगायतले धनकुटाको विकासका लागि धनकुटामा पर्यटनको विकास हुनुपर्ने र त्यसका लागि आम धनकुटेली लाग्नुपर्नेमा जोड दिनुभयो ।
आगामी जेठ ५ गतेसम्म हुने औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सवमा स्थानीय उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । यसलाई पर्यटन बिकासको लागि धनकुटाका सबै पालिकामा पर्यटक पु¥याइने उदयोग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजय सन्तोषी राईले बताउनु भयो ।
उत्सवमा ३५ वटा स्टल रहनेछन् । सो उत्सवमा २५ लाख खर्च हुने र १ करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु समेत प्रर्दशनी गरिनुका साथै झाँकी प्रतियोगिता समेत गरिएको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस