सरकारले लगायो फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध
काठमाडौं । सरकारले सूचीकरणमा नआएको भन्दै फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले सूचीकरणमा नआएको भन्दै सामाजिक सञ्जाल बन्द गराएको छ । यसले ठूलो सम्पर्कको माध्यम टुट्ने अवस्था सिर्जना भएको छ । अब नेपालमा सूचीकृत भएका टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ चल्नेछन् । त्यस्तै सूचीकरणका लागि मन्त्रालयमा आवेदन बुझाइसकेका टेलिग्राम र ग्लोबल डायरी पनि चल्नेछन् ।
मन्त्रिपरिषद् बैठकले सात दिनका लागि दिएको समयमा सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले सूचीकरणका लागि सम्पर्कमा नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मन्त्री गुरुङ, मन्त्रालयका अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि यो निर्णय सार्वजनिक भएको हो ।
मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिइसकेको छ । मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो ।
हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने सरकारले चेतावनी दिएको थियो ।
सञ्चार मन्त्रालयले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा सामाजिक सञ्जाल सूचीकरणका लागि नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । उक्त आदेश अनुसार भदौ ९ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सूचीकरणका लागि अनुरोध गर्दै सञ्चारमन्त्रालयले भदौ १२ गते सूचना सार्वजनिक गरेको थियो ।
सूचना अनुसार तोकिएको समयमा सूचीकरणमा नगरेका सामाजिक सञ्जाललाई बन्द गर्न मन्त्रालयले बिहीबार दूरसञ्चार प्राधिकरणलाई दिर्नेशन दिएको हो । मन्त्रालयले सूचीकरण भए पुनः सक्रिय गराउनसमेत निर्देशन दिएको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस